काठमाडौं। सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि मापदण्डमै सहमति नभएपछि मंगलबारको बैठक पनि निष्कर्षविहीन भएको छ । बुधवार पुनः छलफल गरेर भदौ ९ गतेसम्म टुंगो लगाइने कार्यदलका सदस्यहरूले बताएका छन् ।
कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले चाँडै निष्कर्षमा पुग्ने बताउनुहुँदै सिट बाँडफाँटमा समस्या छ कि भन्ने आशंका छिट्टै दुर हुने भनाइ राख्नुभयो।
मन्त्री कार्कीले भन्नुभयो, “संयोजक कृष्णप्रसाद सिटौला अस्वस्थ हुनुभएको छ। कतिपय कुरा संयोजकले ब्रिफ गर्नुपर्ने हुन्छ। कार्यदल र नेतृत्वबीच सहमतिको नजिक हामी पुगेका छौं। धेरै किसिमको मोडालिटीबारे छलफल गरेका छौं।”
आगामी निर्वाचन तालिका प्रकाशित भइसकेकाले पनि बैठक जतिसक्दो चाँडो निष्कर्षमा पुग्ने उहाँको भनाइ छ। “नेताहरुले एक्ला, एक्लै पनि कुरा गर्नुहुनेछ। जुन सहज ढंगले सिट बाँडफाँटको समस्या समाधान गर्छौ”, उहाँले भन्नुभएको छ।
सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका नेता एवम् सिट बाँडफाँट कार्यदलका सदस्य हिमलाल पुरीले बालुवाटारमा बसेको गठबन्धनको बैठकमा आगामी चुनावमा सिट कसरी विभाजन गर्ने भन्नेबारे एक, दुई दिनभित्रै टुंगो लाग्ने जानकारी दिनुभएको हो।
नेता पुरीले भन्नुभयो, “आज निष्कर्षमा पुग्न सकिएन, छलफल जारी छ। बैठक भोलि पुनः अपराह्न ५ बजे बस्नेछ। भदौ ९ गतेभित्र टुंग्याउने प्रयत्न गर्छौं।” उहाँले कुन दललाई कति सिट भन्ने बारेमा समग्ररुपमा विभिन्न आधारबारे छलफल भएको उल्लेख गर्नुभयो।
“यो दललाई यति नै सिट भन्ने होइन, आधारकै विषयमा छलफल भइरहेको छ। आधार एउटा मात्रै छैन। प्रत्यक्ष निर्वाचन, समानुपातिक र स्थानीय तहको निर्वाचनको आधार र पहिला कहाँ कसको राम्रो स्थान छ, त्यसमा पनि आधार बनाइएको उहाँको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्