Ads

सरकार र विपक्षी दलबीचको संवादहिनता अन्त्य, बालुवाटारमा देउवा र ओलीबीच डेढ घण्टा भेटवार्ता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।

अध्यक्ष ओलीसँगै एमालेका नेताहरू सुवास नेम्वाङ र विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए। भेटवार्तामा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

भेटमा अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग आगामी मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्दा आफूहरूसँग परामर्श नगरेको बारे चासो राखेका थिए ।
ओलीले आगामी निर्वाचन निष्पक्ष, धाँधलीरहित र विश्वसनीय हुनुपर्नेमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन्।

सरकारले प्रतिनिधि सभामा हालै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक छलफलका लागि पेश गरेको थियो। सरकारले यस्ता विधेयक ल्याउँदा प्रमुख प्रतिपक्षीसँग छलफल नगरेको पनि एमालेले बताउँदै आएको थियो।

ओलीले राष्ट्रपतिले फिर्ता गरेपछि फेरि संसदमा पुगेको नागरिकता विधेयकबारे पनि प्रधानमन्त्री देउवासँग कुरा राखेका छन्। सरकारले दुबै सदनबाट नागरिकता विधेयक पारित गरी सभामुखमार्फत् प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको थियो।

ओलीले प्रधानमन्त्री देउवासँग दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि सरकारले नियन्त्रणका लागि खासै पहल नगरेको बारे चासो व्यक्त गरेका थिए ।

भेटवार्तामा सहभागी कांग्रेस नेतासमेत रहेका सञ्चार मन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले राखेका विषयमा प्रधानमन्त्री देउवाले सकारात्मक रूपमा लिने बताएको उल्लेख गरे।

Ads

सम्बन्धित पोष्टहरू