सर्वोच्च अदालतले निर्धारित न्यूनतम योग्यता नपुगेका न्यायाधीशलाई न्याय परिषदले हटाउन सक्ने आदेश गरेको छ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले न्यायाधीशको योग्यतासम्बन्धी संविधानले तोकेको व्यवस्थाअुनसार न्याय परिषदले जुनसुकै अवस्थामा पनि हटाउन सक्ने आदेश गरेको हो।
योग्यता नपुगेको उल्लेख गर्दै बर्खास्तमा परेकी उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेणुका साहले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो।
‘नियुक्ति गर्ने निकाय वा अधिकारीमा बर्खास्त गर्ने अधिकार पनि रहन्छ भन्ने कानुनी मान्यता छ,’ आदेशमा भनिएको छ, ‘कुनै योग्यता नपुगेको व्यक्तिलाई न्यायाधीश पदमा नियुक्ति गरिएको अवस्थामा सो कुरामा सुधारका लागि अन्य वैकल्पिक कानुनी समाधानको मार्ग नरहेको हुँदा न्याय परिषदले नै निर्णय लिनसक्ने अर्थमा पनि रिट निवेदकलाई पदमुक्त गरिएको विषयलाई हेर्नुपर्ने अवस्था रहेको देखिन्छ।’
कुनै सार्वजनिक जवाफदेहीको पदमा नियुक्तिसम्बन्धी निर्णय गर्ने निकाय वा पदाधिकारीको जवाफदेहीता अवश्य नै रहने र यसका अतिरिक्त, स्वयं नियुक्त हुने पदाधिकारीमा पनि सो कुराको जवाफदेहीता रहने आदेशमा उल्लेख छ।
आदेशमा भनिएको छ, ‘निर्धारित न्यूनतम योग्यता नपुगेका व्यक्तिलाई कुनै पनि सार्वजनिक जवाफदेहीता रहेको पदमा नियुक्त गर्नु हुँदैन ।’
न्यायाधीश नियुक्ति र पदमुक्त गर्नेसम्बन्धी समग्र प्रावधानहरू तथा न्यायिक अभ्यास र सिद्धान्तको सापेक्षतामा पूर्ण सुनुवाइको अवस्थामा नै सबै प्रश्नहरूको निरुपण गर्नु उचित देखिएको आदेशमा उल्लेख छ।
न्याय परिषदको गत असार २४ गते बसेको बैठकले न्यायाधीश साहलाई योग्यता नपुगेको उल्लेख गरी बर्खास्त गर्ने निर्णय गरेको थियो। सोही निर्णयविरूद्ध सर्वोच्च अदालतमा साहले रिट निवेदन दायर गरेकी थिइन्। रिट निवेदनमा आफूले पाँच वर्ष काम गरिसकेपछि नियतवस हटाइएको उल्लेख थियो।
साहमाथि पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी भएको नाताले लामो समय सिटिइभिटीमा कार्यरत रहेको भए पनि पहुँचका आधारमा उच्च अदालतको न्यायाधीश बनाएको आरोप छ।
परिषदले उच्च अदालतको न्यायाधीश बन्ने योग्यता नपुगेको उल्लेख गर्दै न्यायाधीश पदबाट बर्खास्त गरेको थियो। रासस
प्रतिक्रिया दिनुहोस्