काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता समस्या समाधानका लागि नयाँ नागरिकता ऐन बनाउनु पर्ने प्रस्ताव गर्नुभएको छ ।
केन्द्रीय कमिटीको बैठकमा प्रष्तुत राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले सातवटा बुँदामा नागरिकता विधेयकका सम्बन्धमा आफ्नो दृष्टीकोण स्पष्ट पार्नु भएको छ ।
अध्यक्ष ओलीको प्रतिवेदनमा उल्लेख भएका सात बुँदा यस्ता छन्
१. नेपालको संविधानमा नागरिकता सम्बन्धमा गरिएका व्यवस्था कार्यान्वयन गर्न संसोधन मात्र पर्याप्त छैन । तसर्थ संसदबाट नयाँ ऐन निर्माण गरिनु पर्दछ ।
२. यसका लागि विगतमा संसदमा प्रष्तुत गरिएको नागरिकता विधेयक र सम्बन्धित समितीमा यस सम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनु पर्दछ ।
३. जन्मका आधारमा नागरिकता पाएका या जन्मसिद्ध नागरिकका सन्तानले बिना व्यवधान तत्काल नागरिकता पाउनु पर्दछ ।
४. गैर आवासीय नेपालीहरुलाई संविधानको भावना बमोजिम आर्थिक,सामाजिक र साँस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरिनु पर्दछ ।
५. बैबाहिक अंगिकृतहरुका हकमा निश्चित समयको अन्तरालपछि मात्रै नागरिकता पाउने र त्यस अवधीसम्म निजलाई बसोबासको लागि परिचय पत्र वितरण गर्ने र व्यावशाय लगायत कामका लागि सहज तल्याउनु पर्दछ ।
६. लैंगिक समानता,आमाको आत्मसम्मान,आमाको नाममा नागरिकता पाउने ,संवैधानिक प्रबन्धको कार्यान्वयन,प्रादेशिक र लैंगिक पहिचान लगायतका प्रश्नमा राष्ट्रपतिज्यूबाट उठाइएका गम्भीर प्रश्नमा गहन छलफल हुनुपर्दछ र सहमति निर्माणगरिनु पर्दछ ।
७. कतिपय प्रश्नमा प्रतिनिधिसभा नियमावली अनुसार जनताको सुझाव लिने समेत व्यवस्था गरिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्