काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लाग्याे ।
मन्दिरका चार ढोका बेलुकी भक्तजन लाममा बसेसम्म खुला गरिने जनाइएको छ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड हो । बिहान मूल मन्दिर प्राङ्गणमा मात्र व्रतालु लाममा बसेका छन् ।
पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि चार वटा मार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले यस वर्षको हरितालिका [तीज] पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन नयाँ लामको व्यवस्था गरेको छ ।
कोटेश्वर–तीनकुने –सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था गरेको कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।
यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने बाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा जुत्ता चप्पल सुरक्षित राखेर स्वयंसेवा गर्ने जिम्मेवारी जयवागेश्वरी टोल सुधार समितिले पाएको छ ।
पशुपतिनाथको बाहिरी मूलढोका भक्तजनका लागि २०६५ सालपछि यो वर्ष तीजमा पहिलोपटक खुला गरिएको हो ।
पर्वका अवसरमा आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ । देशभरका शिवालयमा व्रतालु महिलाको भीड लागेको छ ।
तस्विरहरू : रासस
प्रतिक्रिया दिनुहोस्