काठमाडौं । तीन वर्षदेखि लगातार बागलुङमा डेङ्गुका बिरामी भेटिन थालेका छन् ।
विगत दुई वर्षदेखि दक्षिण बागलुङको जैमिनी र बागलुङकै बलेवा क्षेत्रमा बिरामी देखिएकामा यो वर्ष भने बागलुङको अन्य स्थानमा पनि भेटिएको हो ।
लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण भएमा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ । धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेलका अनुसार अस्पतालमा उपचार गर्न आएका बिरामीमा पनि छिटफुट रुपमा डेङ्गुको सङ्क्रमण पुष्टि भइरहेको छ ।
उच्च ज्वरो, रुघाखोकीसमेतका लक्षण देखिएपछि उपचारका लागि आएकालाई डेङ्गु परीक्षण गर्दा पुष्टि भएको उनले बताए । दुई वर्षअघि चार, गत वर्ष तीन जना बिरामीमा डेङ्गु देखिएपछि धवलागिरि अस्पतालमै उपचार गरिएको थियो । यो वर्ष पनि लक्षणसहितका बिरामी धेरै देखिएको पोखरेलले बताए । लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने भएकाले आम नागरिकलाई सचेत रहन स्वास्थ्य कार्यालय बागलुङले पनि सबैलाई आग्रह गरेको छ ।
डेङ्गुविरुद्ध स्वास्थ्य कार्यालयले दशवटै पालिकाका सबै स्वास्थ्यचौकीका प्रमुख र अन्य स्वास्थ्यकर्मीलाई तालिमसमेत दिएको थियो । रगत जाँचपछि मात्र डेङ्गु पत्ता लगाउन सकिने भएकाले पालिका तहमा पनि आवश्यक किट पठाइएको जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेको भनाई छ ।
एक बिरामीबाट अर्कोमा सजिलै सर्ने भएकाले सतर्कता अपनाउन सचेतना कार्यक्रम सञ्चालन गर्ने, बिरामी आएमा उपचारको व्यवस्था मिलाउने र लामखुट्टे बस्ने पानीका स्रोत हटाउने तयारी सुरु भइसकेको उनले बताए । “धेरै ज्वरो आउने, शरीर र टाउको दुख्ने डेङ्गुको लक्षण हुन्”, डा पोखरेलले भने , “सतर्कता अपनाउन सकिएन भने कोरोना भाइरसभन्दा यो खतरा हुनसक्छ ।” बिरामी बढी सिरियस हुने भएकाले लामखुट्टेबाट बच्नकै लागि बढी सचेत बन्नुपर्ने उनको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्