काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाउनु भएको छ । उहाँले महारानी एलिजाबेथ विश्वले सम्मान गर्ने योग्य राजनेता भएको बताउनु भएको छ ।
काठमाडौंस्थित बेलायती राजदुतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले लेख्नुभएको छ, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनबाट मलाई अत्यन्तै दुःख लागेको छ । नेपाली जनता, नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’’
शोकको यस दुःखद घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ तपाईंहरूसँग रहेको पनि राष्ट्रपतिको शोक सन्देशमा उल्लेख छ ।
राष्ट्रपति भण्डारीले महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको उल्लेख गर्नुभएको छ ।
सन्दशेमा राष्ट्रपतिले भन्नु भएको छ, ‘‘महारानी एलिजाबेथ विश्वले सम्मान गर्ने योग्य राजनेता हुनुहुन्थ्यो । उहाँले सन् १९६० र १९८६ मा गर्नुभएको नेपाल भ्रमणको सम्झना नेपाली जनताले सदैव गरिरहने छन ।’’
प्रतिक्रिया दिनुहोस्