काठमाडौ ।सिन्धुलीको दुधौली नगरपालिका–१३ कुप्रीडाँडामा बिजुली बत्ती बालिएको छ । बिजुली पुगेपछि स्थानीय हर्षित भएका छन् । वर्षौँदेखिको टुकी बालेर बस्नुपर्ने उनीहरुको बाध्यता हटेको छ ।
कुप्रीडाँडामा नयाँ ट्रान्सफर्मर जडान गरिएपछि घर–घरमा बिजुली बत्ती बलेको हो । दुधौली नगरपालिका–१३ का वडाध्यक्ष दीपक खड्काले विद्युत विस्तारपछि स्थानीयको दैनिकीमा सहजता आएको बताएका छन्। विद्युत विस्तारपछि सो वडाका झण्डै दुई सय परिवार लाभान्वित भएका छन् ।
चालु आर्थिक वर्षको प्रारम्भदेखि वडा नं १३ ले विद्युत विस्तार गर्न थालेको थियो। भौगोलिक विकटताका कारण एकैपटक वडाभरि विद्युत विस्तार गर्न नसकिएको वडाध्यक्ष खड्काले बताए । नेपाल विद्युत प्राधिकरण र स्थानीय सरकारले दुधौलीमा पछिल्लो समय विद्युत विस्तार थालेको छ । बाँकी रहेका अरुनडाँडा, पोखरी, च्यामालगायत क्षेत्रमा पनि विद्युत विस्तारको पहल भइरहेको खड्काले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्