पोखरा । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठिक एक महिना बाँकी छँदा प्रतियोगिताअन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ ।
प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र खेलतालिका सार्वजनिकसँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ ।
खेल स्थल सार्वजनिक गर्न निर्धारित समयभन्दा केही ढिलाइ भएकामा राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा एक कार्यक्रम आयोजना गरी सबै खेलका खेलस्थल र खेल तालिका सार्वजनिक गरेको हो ।
आगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि कास्कीसहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ ।
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाइनेछ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताए । बास्केटबल पुरुष पोखरा रङ्गशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी, फेन्सिङ पोखरा रङ्गशालमा हुनेछ ।
यसैगरी जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ । पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।
रग्बी भण्डारढिक खेलमैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टीप्यालेस रानीपौवा, खोखो पोखरा रङ्गशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने निर्णय परिषद्ले गरेको छ ।
यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आइटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाकताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।
यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्यगरी नेशनल स्पोर्टस् काउन्सिल एप सञ्चालनमा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्