काठमाडौं ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जित्ने खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने बताएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आज कैलालीमा आयोजित प्रदेशस्तरीय छनोट खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले प्रतियोगितामा विजयी खेलाडीलाई प्रदेश सरकारले आर्थिक तथा भौतिकरुपबाट सम्मान गर्ने बताएका हुन् ।
मुख्यमन्त्री भट्टले खेलकुदले एउटा व्यक्ति, खेलाडी, समाज मात्र नभई राष्ट्रलाई चिनाउन अह्म भूमिका खेल्ने बताएका छन् । “स्वास्थ्यका लागि पनि खेलकुद अनिवार्य छ, अहिले समाजमा हामी देख्छौँ विभिन्न प्रकारका रोगले मानिसलाई ग्रसित पारेको हुन्छ”, उनले भनेका छन् ।
सुदुरपश्चिम प्रदेश सरकार गठन भएदेखि नै खेलमा महत्वपूर्ण काम अगाडि बढाएको मुख्यमन्त्री भट्टको भनाइ छ । प्रदेश सरकार गठन भएको पहिलो वर्ष नै सातवटै प्रदेशलाई एकै ठाउँमा ल्याएर प्रतियोगिता सुरु गरेको भट्टले बताएका छन् । उक्त प्रतियोगिता सुदूरपश्चिम प्रदेशले नै जितेको मुख्यमन्त्री भट्टले स्मरण गराएका छन् ।
प्रदेशभित्रका सबै जिल्लाहरुमा खेलकुदका लागि व्यवस्थित भौतिक संरचना तयार गर्न र खेलाडीको वृत्ति विकासको लागि कार्यक्रम अगाडि बढाउने कुरामा प्रदेश सरकारले नीतिगत तथा आर्थिक रुपमा योजनाबद्धरुपमा अगाडि बढेको उनको भनाई थियो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिम प्रदेशबाट खेलाडी सहभागी हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्