काठमाडौँ । नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु भएकाे छ ।
नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दै छ । प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले दुई महिना अगाडिदेखि नै सुरु गरिसकेको छ तर बन्दसूची पेस गर्ने समयदेखि मतदानसम्म आइतबारदेखि ६३ दिन बाँकी छ ।
राजनीतिक दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा नाम पेस गर्न असोज २ र ३ गते दुई दिनको समय दिइएको छ । आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन् ।
दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । त्यसैगरी समावेशी सिद्धान्तबमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।
बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न हुनेछ । राजनीतिक दलले बन्दसूचीमा नाम पेस गरेको केही दिनभित्रै आयोगले निर्वाचन आचारसंहितासमेत लागू गर्ने तयारी गरेको छ ।
मङ्सिर ४ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म हुने मतदानभन्दा ४८ घण्टाअगाडि मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचार प्रसारमा रोक लगाइनेछ । आयोगले मतदान सकिएलगत्तै प्रक्रिया पूरा गरेर मङ्सिर ४ गतेदेखि नै मतगणना सुरु गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्