सोलुखुम्बु । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनकै चरणमा रहेकाले अब तल्लो तहलाई अझ अधिकारसम्पन्न बनाउन आवश्यक ऐन निर्माण गर्न बाँकी रहेको बताएका छन् ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा निर्मित भौतिक संरचनाको उद्घाटन गर्दै उनले भने ‘संघीय निजामती ऐन र सुरक्षा ऐन बनाउन बाँकी छ, संविधानको सफल कार्यान्वयनमार्फत तल्लो तहलाई अधिकारसम्पन्न बनाउने ठूलो अभिभारा बाँकी नै छ। जनयुद्ध र शान्तिप्रक्रिया मेरै नेतृत्वमा सम्पन्न भयो, अब देशको विकास र समृद्धिको एक पटक नेतृत्व गर्ने उत्कट चाहना छ ।’
दाहालले एक पटक नेतृत्व गर्ने चाहना भएको पनि बताए । उनले भने ‘समाजवादी मुलुक नेपालको एक पटक नेतृत्व गर्ने चाहना छ, अब समाजवादमार्फत नै मुलुकलाई समृद्ध बनाउने हो,।’
कार्यक्रममा एकै साथ ५० शय्याको दूधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको भवनको पार्टी अध्यक्ष दाहालले उद्घाटन गरे ।
दूधकोशी सामुदायिक अस्पताल १५ करोड, बहुप्राविधिक शिक्षालय ५ करोड र गाउँपालिकाको प्रशासनिक भवन पौने ७ करोडको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
पालिका अध्यक्ष राईले भने ‘जिल्लामै पहिलो पटक सुविधासम्पन्न अस्पताल जनताबाट चन्दा उठाएर बनाएका हौं, महायज्ञ लाएर जनताको एकताको बलले करोडौँको अस्पताल बनाउन सफल भएका छौँ ।’
सो अवसरमा पालिकालाई २५ रोपनी नि:शुल्क जग्गा दिने स्थानीय समाजसेवी बलराम गुरुङलगायतलाई सम्मान गरिएको थियाे ।
साे अवसरमा निवर्तमान प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेश १ का आर्थिक मामिलामन्त्री ईन्द्र आङ्बो, प्रदेश १ मा पूर्वराज्यमन्त्री उत्तम बस्नेत, स्थानीय सरकारका प्रमुखहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्