काठमाडौं ।कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको अभावमा समस्यामा परेका छन् । जिल्लाको भजनीमा शनिबार आएको बाढीले सयौँ परिवार वस्तुभाउसहित सडकमा बसिरहेका छन् । सडकमा मानिससँगै सयौँ वस्तुभाउ पनि सडकमा बाँधिएका छन् ।
बाढीका कारण तीन जनाको ज्यान गएको छ । बाढीमा डुबेर भजनी नगरपालिका–८ गोडचौराका ५५ वर्षीय कालुराम चौधरी र वडा नं ९ का २५ वर्षीय विनोद राजीको मृत्यु भएको छ । यस्तै धनगढी उपमहानगरपालिका–१३ की १९ वर्षीया नवीना चौधरीको पनि डुबेर मृत्यु भएको हो ।
बाढीले सबैभन्दा बढी भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । घर बाढीमा डुबेको छ, घरमा भएका अन्नपात, लुगाकपडा बाढीमा बगेका छन् भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफ्नो पेट भर्न र बस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन् भने बस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन ।
भजनी–८ सोनाहाफाँटा खल्लाटोलीकी तुल्सीदेवी विक वस्तुभाउसहित हुलाकी सडकमा बसेका छन् । विक आफू पनि चाउचाउ र चिउराको भरमा बसेका हुन भने उनका वस्तुभाउ पनि भोकै छन् । उनलाई आफूले के खाने, बस्तुभाउलाई के खुवाउने तनाव भएको छ । “बस्तुभाउका लागि जोहो गरिराखेको गहुँको भुस्सा बाढीमा बग्यो, धानखेत अहिले पनि जलमग्न छ । अब घाँस पनि बाढीले नोक्सान भयो”, उहाँले भन्नुभयो, “अब आफू पनि भोकै, वस्तुभाउ पनि चार दिनदेखि सडकमा भोकै छन् ।”
वडा नं ८ कै शान्तिदेवी चौधरी पनि वस्तुभाउसहित सडकमा बसिरहनुभएको छ । उहाँले बालबालिका, वृद्धवृद्धा सबै भोकै रहेको जनाउनुभयो । वडा नं ८ कै शारदादेवी चौधरीका छ बाख्रा र एक गाई छ । उहाँको परिवार वस्तुभाउसहित चार दिनदेखि सडकमा बसिरहेको छ । बस्तुभाउसँगै बस्दा दुर्गन्धित हुनुका साथै पशुका लागि आहाराको समस्या भएको छ । “अधिकांशका वस्तुभाउ पनि सडकमै छन्, सबैलाई बस्तुभाउको आहारा व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता छ”, उहाँ भन्नुहुन्छ, “हामी त सहयोगीहरूले दिएका चाउचाउ र चिउराले ज्यान धानिरहेका छौँ, तर बस्तुभाउलाई के खुवाउनु रु”
शनिबार विस्थापित हुनुभएकी तुल्सादेवी धमालाको परिवार पनि अझै घर फर्कन सकेको छैन । उहाँहरू पनि वस्तुभाउसहित सडकमा बस्नुभएको छ । विस्थापित नागरिकले गाइभैँसी सडकमा भोकै बाँध्नुपरेको छ । बाढीले धानबाली नष्ट गर्नुका साथै घासपातसमेत नष्ट भएको छ । यसले वस्तुभाउ पालकलाई बढी समस्या भएको छ ।
खुला आकाशमा सडकमै बसिरहनुभएकी इसरा सुनारको परिवारको पनि बिचल्ली छ । उहाँको घरखेत सबै बाढीमा मिसिएकाले उहाँको परिवार र उहाँले पालेका बस्तुभाउको आहारामा समस्या भएको छ । “पशुका लागि पराल, गहुँको भुस्सा गोठमा राखेकी थिएँ, सबै बाढीमा मिसियो, मेरो त गोठ पनि रहेन”, उहाँले भन्नुभयो, “सम्पत्तिका नाममा बचेका यी वस्तुभाउ हुन्, वस्तुभाउ पनि भोकले मर्ने भए ।”
भजनी नगरपालिकाका पशु शाखा प्रमुख हरिलाल जैसी बाढीले पशुवस्तुतर्फ क्षति भएका विवरण आइरहे पनि कति क्षति भयो भनी भन्न सक्ने अवस्था नभएको बताए । उनले पशु बगेका, मरेका कुरा आइरहे पनि प्रभावित क्षेत्रमा अझै जान नसकिएकाले अब तथ्याङ्क लिने काम भइरहेको बताएका छन् । “हामी पशुभन्दा मानिस कसरी जोगाउने भनी उद्धारमा खटेका छौँ, अझै मानिसकै उद्धार भइरहेको छ”, उनले भने, “पहिलो चरणमा मानिस उद्धार र राहतका काम भइरहेकाले पशुको आहाराबारे केही उपाय नै छैन । पालिकामा भएको आहाराको स्रोत सबै बाढीले नोक्सान गरेकाले पशुको आहारा व्यवस्थपान गर्न सक्ने अवस्था छैन ।”
पशु शाखा प्रमुख जैसी आजबाट पशुतर्फ भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरिएको बताए। “अझै गाउँ जलमग्न छन्, गाउँमा गएर विवरण लिनसक्ने अवस्था छैन”, जैसीले भने, “धेरै मानिसका वस्तुभाउ बगेका, बङ्गुर मरेका, कुखुरा मरेका खबर आएका छन् । अब हामी तथ्याङ्क लिन्छौँ ।”
भजनी नगरपालिकाले बाढीबाट प्रभावितलाई सहयोग गर्न अपिल गरेको छ । नगरपालिकाले एक सूचना जारी गरी नगरपालिकाका सबै वडामा बाढीले क्षति पु¥याएका कारण त्यहाँका नागरिकलाई राहतका लागि सहयोग गर्न अपिल नगरप्रमुख केवल चौधरी जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्