Ads

एमालेले जहाँ पाइला टेक्यो त्यहाँ परिवर्तन : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४६ साल यता २१ वर्ष सरकार चलाएको कांग्रेसले देशका उद्योगधन्दा बेचेर खाएको बताउनु भएकाे छ ।

आज आयोजित युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देशको रथ तान्छौं भन्ने पाँच दलीय गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काइदिएको बताए ।

अध्यक्ष ओलीले भने ‘देशको रथ तानिँदैन यिनीहरूबाट । यिनीहरूले १४ महिनामा अर्थतन्त्रको पाङ्ग्रा फुस्काए र समाजलाई कलहतिर लगे । सत्तामा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने, यिनीहरूको उद्देश्य त्यत्ति हो । यस अवस्थाबाट देशलाई एमालेले जोगाउनेछ ।’

एमालेले जहाँ पाइला टेक्यो त्यहाँ परिवर्तन आइहाल्ने उनले बताए । चुनावपछि बन्ने एमालेको सरकारले ग्यारेन्टीका साथ देशबाट गरीबी उन्मुलन गर्ने ओलीको भनाइ थियो ।

ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम फैलाउनेहरुमाथि अरिङाल भएर खनिन निर्देशन दिए ।

उनले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामी चाहिं अरिङाल हुन नहुने ? हाम्राविरुद्ध भ्रम फिजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिङाल भएर ध्वस्त पार्नैपर्छ।’

Ads

सम्बन्धित पोष्टहरू