Ads

एमालेलाई साथ दिए मधेसको विकास हुन्छ,अब एमालेमय मधेस : ओली


जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले विगतमा मधेसका जनताको हत्या गरेर एमालेलाई मधेसमा पस्न नदिएको  बताएका छन् । उनले आफूले मधेसको विकास थालेपछि उनीहरू आत्तिएको समेत बताए ।

धनुषाको विदेह नगरपालिका तिनकोरियामा सोही जिल्लाका क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरियासहित करिब ४ हजार समर्थकलाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले मधेसको पहिलो शक्ति बन्नबाट अब एमालेलाई कसैले रोक्न नसक्ने बताए । एमालेलाई साथ दिए मधेसको विकास हुने ओलीको भनाइ थियो ।

अध्यक्ष ओलीले विगतमा कांग्रेस र माओवादी मिलेर सप्तरीमा आफूहरू पुगेका बेला त्यहाँका जनताको हत्या गरेको भन्दै ओलीले एमालेविरुद्ध मधेसमा फैलाइएका भ्रम अब मधेसकै जनता र जनप्रतिनिधिहरूले तोड्ने बताए । उनले यसबीचमा मधेसबाट निर्वाचित ७ जना सांसदसहित १ लाख भन्दा बढी एमालेमा प्रवेश गरेको बताए ।

ओलीले भने– मधेसको विकास एमालेले थालेको छ । राजमार्गबाट सदरमुकाम जोड्ने सडक उन्नत एमालेले थाल्यो । रेलको लिक हामीले बनायौँ, रेल हामीले किनेर ल्यायौँ र आज त्यो आधुनिक रेल चढेर म यहाँ आएँ । अब फर्किँदा हुलाकी राजमार्गबाट जान्छु, त्यो पनि एमालेले सम्पन्न गर्छ ।

ओलीले रेलमार्ग सञ्चालन र विस्तारको नेतृत्व गरेकोमा एमाले सचिव तथा पूर्व भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठलाई धन्यवाद दिए । सोही कार्यक्रममा लोसपाबाट एमालेमा प्रवेश गरेका पूर्वमन्त्री अरगरियाले विगतमा एमाले मुक्त मधेस बनाउने भ्रममा आफूहरू परेको भन्दै अब एमालेमय मधेस बनाउने जनाए ।

Ads

सम्बन्धित पोष्टहरू