काठमाडौं । आज बडा दशैंको सुरुको दिन घटस्थापना भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीहरुको भीड लागेको हो । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।
भक्तपुरमा आज रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदैछ । घटस्थापनाको दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्परा रहेको छ ।
नवरात्रि मेलामा पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैं समापन गर्ने प्रचलन छ ।
नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमय (राँगो)लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ ।(फाइल तस्वीर)
प्रतिक्रिया दिनुहोस्