काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको इतर समूहले सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।
आज दिउँसो १ बजेबाट धर्ना सुरू गरेको हो। धर्ना २ बजेसम्म चल्नेछ। धर्नामा उनीहरूले पार्टी र नेतृत्वप्रति प्रदर्शन वा नाराबाजी नगर्ने भनेका छन्।प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ उम्मेदवार सूची बुझाउँदा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी गरेको आरोपसहित सूची सच्याउन माग गर्दै संस्थापनइतर समूहले सानेपामा धर्ना दिएका हुन्।
उनीहरूले असोज १४ भित्र समानुपातिक उम्मेदवार सूची सच्याउन सभापति देउवासँग माग गरेका छन्। सभापति देउवाले समानुपातिक उम्मेदवार सूची केही संशोधन गर्न सकिने बताइसकेका छन्। यसका लागि मंगलबार र बुधबार पनि बालुवाटारमा शीर्ष नेताहरूसँग देउवाले छलफल गरेका थिए।
कांग्रेसभित्र समानुपातिकमा नेताहरूले श्रीमती र भाइभतिजालाई राखेकोमा असन्तुष्टि जनाएका छन् । केन्द्रीय सदस्य आरजु राणा देउवा, मञ्जु खाणलगायत समानुपातिक सूचीमा छन्।धर्ना कार्यक्रम सुरू गर्दा असन्तुष्ट समूहले कसैका श्रीमती र भाइभतिजालाई राख्न समानुपातिक सूचीको परिकल्पना नगरिएको बताएका थिए। पार्टीका लागि काम गरेको, रगत र पसिना बगाएकाहरूलाई उम्मेदवार बनाउनुपर्ने उनीहरूको माग थियो।
आन्तरिक एकताका लागि शान्तिपूर्ण धर्ना कार्यक्रममा नेता शेखर कोइराला र महामन्त्री गगन थापानिकट नेताहरु जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाहीलगायत अन्य नेताहरु उपस्थित छन्। उनीहरूले अधिकांश ठाउँमा कांग्रेसका उम्मेदवार हुनुपर्ने र रूखमा भोट हाल्न पाउनुपर्ने माग गरिरहेका छन्।
कांग्रेसले केही समयअघि नै केन्द्रीय समितिबाट निर्णय गर्दै गठबन्धन गरी जाने निर्णय गरेको थियो। त्यसबेला खासै विरोध भएको थिएन। तर अहिले उम्मेदवार सूची बनाउन थालेपछि पार्टीका आन्तरिक विषय र गठबन्धन गर्नेजस्ता कुरालाई लिएर कांग्रेसभित्र विवाद देखा परेको छ ।
सभापति देउवा पक्षले शेखर कोइराला पक्षलाई ४० प्रतिशत भाग नदिई पेलेर जान खोजेकोले धर्नालगायत कार्यक्रम गरिएको असन्तुष्ट नेताहरू बताउँछन्।साथै उनीहरूले गठबन्धनका अन्य नेताहरूलाई धेरै सिट लिने दाबी नगर्न पनि आग्रह गरेका छन्।
‘प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायतका पार्टीलाई ठाउँ छाड्दा कांग्रेसका लागि लडेका र रगत, पसिना बगाएकाहरूले ठाउँ नपाउने अवस्था आउन सक्छ, सभापतिले यसमा ध्यान दिनुपर्छ’ उनीहरूले भनेका छन्।
प्रतिक्रिया दिनुहोस्