हेमन्त केसी
सुर्खेत । उपल्लो डोल्पाका सर्वसाधारणको उपचार सेवा आम्चीको भरमा चल्दै आएको छ । तीन वटा पालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीले नियमित सेवा नदिने भएकाले आम्चीको भरमा यहाँका सर्वसाधारणको उपचार हुँदै आएको हो ।
शे फोक्सुण्डो गाउँपालिकाले आम्चीको सेवा प्रवाह सम्बन्धी कार्यविधि नै कार्यपालिकाको बैठकबाट पास गरेको प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले जानकारी दिए । शे फोक्सुण्डोमा तीन वटा संस्था रहेका छन् । १ देखि ४ सम्मका सर्वसाधारणलाई भनेर सालदाङ, ५, ६, ७ का लागि भिजेर र ८ र ९ नम्बरका लागि फोक्सुण्डोमा स्वास्थ्य चौकी रहेको छ । सालदाङमा मात्र अहिले एक जना स्थानीय स्वास्थ्यकर्मी रहेका छन् भने अन्य ठाउँमा हिमपातका कारण जान सकेको अवस्था छैन ।
सबै वडामा आम्चीले स्थानीय जडीबुटीद्वारा उपचार गरेर बिरामी तथा सुत्केरी सेवा दिने गरेको स्वास्थ्यकर्मी निमा धार्गे गुरुङले बताए । स्वास्थ्यकर्मीले दिएको सेवा समेत यहाँका स्थानीयवासीलाई नपरेको र आम्चीकै भरमा सबै खालका उपचार गर्दै आएको गुरुङले बताए । दुनैबाट औषधि लिनसमेत मुस्किल हुँदै गएको छ । प्रतिकिलोको १२० रुपैयाँमा भाडा लाग्ने गरेको गुरुङले बताए ।
एक गाउँबाट अर्को गाउँमा जानका लागि हिउँले अब केही दिन भित्र जान नसक्ने अवस्था हुने भएकाले सेवा दिन समेत हैरानी भएको उनको भनाइ छ । खोप सेवा समेत कात्तिकदेखि चैतसम्म बन्द हुने गर्छ ।
त्यस्तै डोल्पोबुद्ध गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ वडाका लागि धोमा रहेको छ । वडा नम्बर ४, ५ र ६ का लागि तिन्जेमा रहेको छ । आफ्नै भवन नहुँदा भाडामा चलाउनु परेको गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङले बताए । अहिले कुनै पनि स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएको उनले गुनासो गरे ।
कर्मचारी गाउँपालिकामा आउनै नमान्ने गरेको उनको दुखेसो सुनाए । सरकारले सुत्केरी भत्ता दिए पनि यहाँका सबै गर्भवतीहरू घरमै सुत्केरी हुने भएकाले भत्ता नपाउने गरेको उनले बताए । आम्चीको भरमा घरमै सुत्केरी हुने परम्पराका कारण स्वास्थ्य संस्थाको विश्वास नरहेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।
त्यस्तै छार्काताङसुङ गाउँपालिकामा दुई वटा स्वास्थ्य संस्था रहेका छन् । १, २ र ३ को लागि छार्कामा र ४, ५ र ६ को मुकोटमा रहेको स्वास्थ्य संस्थाले सेवा दिने गर्छन् । त्यहाँ अहिले कुनै पनि स्वास्थ्यकर्मी नभएको पाइएको छ । मुकोट स्वास्थ्य संस्थाका प्रमुख ज्ञानेन्द्रबहादुर शाही जुफाल घरमा रहेका छन् । तिहारमा घरमा आएका उनी चैतमा मात्र फर्कने सोचमा रहेको बताए । हिमपात छ कसरी जानु ? उनले प्रश्न गरे ।
कात्तिकदेखि नै खोप सेवा बन्द भएको उनले बताए । मुकोटमा रहेको स्वास्थ्य संस्थामा प्रहरी, बैंकसमेत बसेको उनले बताए । गाउँपालिका भरी अघिल्लो वर्ष एक जनाले मात्र सुत्केरी सेवा लिएको शाहीले बताए । सबै यहाँका गर्भवती आम्चीको सहयोगमा घरमै हुने सुत्केरी हुने गरेका कारण सुत्केरी भत्तासमेत नपाउने गरेका छन् । नियमित गर्भ जाँच कसैले पनि स्वास्थ्य संस्थामा आएर नगर्ने तर घरमै बसेर जोखिम मोलिरहेको स्वास्थ्यकर्मीको भनाई छ ।
उता आम्चीले स्वास्थ्यकर्मीसँग भाषा नमिल्ने भएकाले काम गर्न समस्या हुने गरेको बताएका छन् । आफूहरू स्थानीय भाषा मात्र बोल्ने भएकोले स्वास्थ्यकर्मी नेपाली भाषा बोल्ने भएकाले आफूहरू त्यो नजान्ने भएकाले समस्या भएको उनीहरूको भनाइ छ । एक गाउँमा एक आम्ची हुने गरेको बताएको छ । उपल्लो डोल्पाको तीन वटा पालिकामा स्वास्थ्य संस्थामा आएर नियमित गर्भ जाँचदेखि सुत्केरी हुने संख्या जिरो रहेको छ ।
ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका, काइके गाउँपालिका र जगदुल्ला गाउँपालिकामा थोरैले सुत्केरी सेवा लिने गरेका छन् । एक वडाबाट अर्को वडामा जानका लागि दिनभरी लाग्ने भएकाले र सडकको पहुँच नभएका कारण पनि यहाँका महिलाहरू सुरक्षित सुत्केरी सेवा लिन नपाएका हुन् ।
ठुलिभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका सदरमुकाम दुनैसँग जोडिएका स्थानीय तह हुन् । मुड्केचुला जाजरकोटको नलगाड नगरपालिकासँग जोडिएको छ । जगदुल्ला गाउँपालिका जुम्लासँग जोडिएको छ । उपल्लो डोल्पा भन्दा तल्लो डोल्पामा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढी रहेको छ ।
कर्णाली प्रदेशको सबै भन्दा बढी हेलिकोप्टरबाट गर्भवतीको उद्धार हुने जिल्लामा डोल्पा एक नम्बरमा पर्छ । यहाँका महिलालाई सुरक्षित रूपमा सुत्केरी सेवा प्रदान गर्न प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गरी जनचेतना फैलाउनु पहिलो प्राथमिकता रहेको स्थानीय सरकारले बताएका छन् ।
के आम्ची उपचार विधि ?
हिमाली क्षेत्रका डाक्टर हुन्, आम्ची । आयुर्वेदमा आधारित आम्चीकै भरमा सयौं वर्षेदेखि हिमाली क्षेत्रमा उपचार हुँदै आएको छ । उनीहरू अनुभवको आधारमा जडीबुटीको पहिचान गर्छन् । ती जडीबुटी प्रयोग गरेर बिरामीको उपचार गर्छन् र निको बनाउँछन् । आम्ची जडीबुटी पाइने बेला उच्च हिमाली भागमा उक्लन्छन् ।
पुस्तौँदेखि जडीबुटीको चिन्ने कलाले उनीहरूलाई कुनचाहिँ ओखती हो र कुन हैन भन्ने सजिलै थाहा पाउने गर्दछन् । ती जडीबुटीलाई पिसेर, मात्रा मिलाएपछि बल्ल ओखती बन्छ । पूर्वीय समाजको दैनिक जीवनमा आम्ची र आयुर्वेद परापूर्वकालदेखि नै प्रयोगमा छ । अहिले आयुर्वेद जोडिएका औषधी र सौन्दर्य प्रशोधनले लोकप्रियता पनि हासिल गरेका छन् । पुरातन उपचार पद्धतिलाई आधुनिकीकरण गर्ने विश्वव्यापी लहर पनि चलेको छ ।
पुरातन पद्धतिमा टेकेर जडीबुटीमार्फत उपचार गर्ने आम्चीहरू देवता नै रहेको यहाँका स्थानीयवासी बताउँछन् । हिमालयन आम्ची एसोसिएसनको पहलमा सरकारले आम्ची पढ्न अनुमति दिइएको छ ।
सोवा रिग्पा उपचार पद्धति आदिवासी ज्ञानमा आधारित उपचार विधि हो । अहिले यो उपचारका बारे विश्व विद्यालय तहमा अध्यापन हुने गरेको छ । यसबाट सोवा रिग्पाका विज्ञ विशेषज्ञ (आम्ची) उत्पादन हुन थालेका छन् ।
सोवा रिग्पा उपचारका अगुवा आम्ची हुन्छन् । स्वास्थ्य उपचारका वैकल्पिक विधा आयुर्वेद, अकुपञ्चर युनानी जस्तै सोवा रिग्पा पनि उपचारको फरक पद्धति हो । बुद्ध भगवानको पाँच महाज्ञान मध्ये एउटा ज्ञान सोवा रिग्पा ज्ञान हो । बुद्ध भगवानले यस उपचार विधिका लागि चार वर्ष तपस्या गरेका थिए ।
हिमाल क्षेत्रको करिब एक हजार प्रजातिका जडीबुटी र १३० किसिमका जनावरका शरीरका विभिन्न अङ्गबाट सोवा रिग्पाको औषधि बनाउने गरिन्छ । यस्ता जडीबुटीहरू नेपालमा नै उपलब्ध हुन्छन् । यी जडीबुटी पहिचान गर्ने ज्ञान आम्चीहरूमा मात्र हुन्छ । यस्तो ज्ञान परम्पराबाट सिकेका हुन् ।
प्रतिक्रिया दिनुहोस्