Ads

मतदाता शिक्षामा सहयोग गरिदिन उद्योगी व्यवसायीलाई आयोगको आग्रह


काठमाडौं । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । कान्तिपथस्थित कार्यालयमा मंगलबार आयोजित अन्तरक्रियामा आयोगले यस्तो आग्रह गरेको हो । निजी क्षेत्रका विभिन्न नेतृत्वदायी संगठन तथा व्यक्तिहरू सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले व्यावसायिक सामाजिक उत्तरदायित्व ९सिएसआर० अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गरे ।

उनले आयोगको सामाजिक सञ्जालमा आवद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश आफ्नो सांगठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गरे । थपलियाले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्य विश्लेषण गर्दै निर्वाचनपछि यो माहोलमा परिवर्तन आउने विश्वास व्यक्त गरे । ‘अहिले तरलताको अभाव, व्याजदर वृद्धि, बचत घटिरहेका जस्ता अवस्था सुनिन्छ । यसले कतै व्यवसायीहरू पलायन नै पो हुने हो कि भन्ने माहोल छ,’ उनले भने, ‘निर्वाचनसँग पनि यसको कुनै न कुनै साइने सम्बन्ध छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।’

नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीहरुलाई पनि सम्झिएकामा खुसी प्रकट गर्दै आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । यसअघिको स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिन्हहरू हुँदा मतदाता सही ढंगले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उनले यसपटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेरबदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे । महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले मतदानका दिन व्यावसायीहरुका सवारीसाधन प्रयोग गर्न दिन र आफूहरुलाई पर्यवेक्षकका रुपमा जिम्मेवारी दिन आग्रह गरे ।

Ads

सम्बन्धित पोष्टहरू