Ads

दार्चुलामा चुनावी भिडन्त : बडू हारको बदलामा, ठगुन्ना निरन्तरताको दाउँमा


दार्चुला । आसन्न प्रतिनिधिसभा निर्वाचनमा दार्चुलामा बहाल मन्त्री र पूर्वमन्त्रीबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडू सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका छ । नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको एकल उम्मेदवारी रहेको छ ।

बडू र ठगुन्नाबीच मुख्य चुनावी भिडन्त हुने देखिएको हो । मन्त्री बडूलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) लगायतको साथ छ भने एमालेका उम्मेदवार ठगुन्ना एक्लै चुनावी मैदानमा छन् ।

आसन्न निर्वाचनमा एमालेले कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमित भूमिको मुद्दालाई चुनावी मुद्दा बनाएर केन्द्रीय नेतृत्वलाई नै दार्चुलाबाटै चुनावी अभियान सुरुआत गरेको छ । २०७० र २०७४ सालको निर्वाचनमा एमालेबाट ठगुन्ना लगातार दुई पटक निर्वाचित भएका हुन् ।

२०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेका मन्त्री बडूलाई यस पटक सत्ता गठबन्धनको दरिलो साथ रहेको देखिन्छ । उनलाई हारको बदला लिने र प्रदेशसभामा सत्ता गठबन्धनका दुवै उम्मेदवारलाई निर्वाचन जिताउनुपर्ने चुनौती छ भने पूर्वमन्त्री गठुन्ना तेस्रो पटक जितलाई निरन्तरता दिने दाउँमा छन् ।

प्रतिनिधिसभामा दार्चुलामा मन्त्री बडू, ठगुन्नासहित नौ जना उम्मेदवार रहेका छन् । २०७४ सालको निर्वाचनमा पराजित विक्रम सिंह धामी दार्चुला प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट सत्ता गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार हुन । प्रदेश ‘२’ बाट गठबन्धनले माओवादी नेता एवं सुदूरििपश्चम प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामी उम्मेदवार छन् । यसैगरी प्रदेशसभा एमालेले ‘१’ मा नेता हरदेव जोशी र ‘२’ मा रामदत्त जोशीलाई उम्मेदवार बनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू