डोटी । सरकारले कुनै राहतको व्यवस्था नगरेपछि डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ३ गैरागाउँमा भूकम्प पीडित लाई समस्या भएको छ । भुकम्पले घर भत्काएपछि उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलि हाउसमा रात बिताउन बाध्य भएका छ । गत मङ्गलबार रातिको भूकम्पबाट पिडित परिवारलाई सरकारले कुनैपनि राहत नदिएको पीडितको गुनासो छ ।
जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं. ३ गैरागाउँमा मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो ।
भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेको बताईएको छ । भूकम्पमा परी कैयौँ नागरिकका घरमा क्षति पुगेको छ । कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ ।
“सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको स्थानीय भरत बोहराले बताए । चिसो समयमा हामीहरु पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ, उनले भने ।
नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ । अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन् ।
गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बादर र मुसाले खान थालेको पीडितहरुको भनाई छ । खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताईन र
उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले आजै विपद् व्यवस्थापनको बैठक राखी सम्भवतः आजै वितरण गरिने बताईन । उनले भनिन् “गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला ।”
मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो । त्यसमा परी उक्त गाउँका छ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए । उक्त भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जर्नौँ घरमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्