बैतडी, । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ । तर कहिँले निर्माण हुने हो टुङ्गो भने लागेको छैन ।
राजनीतिक दलहरुले यसपटकको निर्वाचनमा पनि यसैलाई चुनावी एजेन्डा बनाएका छन् । स्थानीयवासीको मागअनुसार सबै राजनीतिक दलहरूले मोटरेवल पुल निर्माण गर्ने भन्दै यतिबेला प्रतिबद्धता जनाइसकेका छन् ।
यस नाकामा हाल करिब डेढ सय वर्ष पुरानो झोलुङ्गे पुल सञ्चालन भइरहेको छ । तत्कालीन समयमा महाकाली नदीमा इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुङगे पुल यतिबेला जीर्ण अवस्थामा पुगेको छ ।
सुदूरपहाडका लागि भारत जोड्ने यो मुख्य नाकाका रुपमा रहेको यहाँ मोटरेबल पुल नहुँदा यो क्षेत्रको व्यापार व्यवसायमा असर पर्दै आएको छ ।झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य सङ्घले १० हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरी नेपाल सरकार र भारतीय दूतावासलाई बुझाएको थियो ।
साथै उद्योग वाणिज्य सङ्घको अगुवाइमा २०७६ मा यहाँका स्थानीय बासिन्दा सदरमुकाममा ३६ दिन लामो रिले अनशनसमेत बसेका थिए । बुधबार मात्रै पाटनमै आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले झुलाघाट पुल निर्माण गरेरै छाड्ने दाबी गरे । “झुलाघाटमा मोटरेवल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, मोटरेवल पुल बनाएरै छोड्छु”, देउवाले भने ।
सोही सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल गर्ने बताए । “झुलाघाटमा पक्कीपुल निर्माणबारे गठबन्धनका उम्मेदवारले माग गरेका छन् । यो यहाँको आवश्यकता छ, गठबन्धनका उम्मेदवारलाई जिताउनोस् झुलाघाटमा पक्की पुल निर्माणको काम अगाडि बढाइनेछ”, उनले भने ।
त्यसअघि कात्तिक १८ गते पाटनमै आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेकापा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झुलाघाटमा पक्की पुल निर्माण हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसका साथै एक महिनाअघि मात्रै बैतडी पुगेका कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकले पनि झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिएका तिए । नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बने झुलाघाटमा मोटरेबल पुल बन्नेमा ढुक्क हुन उनको आग्रह थियो । प्रधानमन्त्री तथा पूर्व प्रधानमन्त्री समेतले झुलाघाटमा पक्की पुल निर्माणका लागि आश्वासन दिए पनि यहाँ स्थानीय बासिन्दा भने अझै विश्वासमा रहेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्