Ads

भलिबलमा उदाउँदा रवि


काठमाडौं, । अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि यू–२३ राष्ट्रिय टिमको खुला छनोटमा परेपछि रवि केसी खेल करिअरको नयाँ मोडमा आइपुगेका छन् ।

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि पहिलो चरणमा छानिएका २० खेलाडीमध्ये उनी अग्रस्थानमा छन् । उनी आइतबारदेखि बन्द प्रशिक्षणमा हुनेछन् ।

नेपाल भलिबल सङ्घले खुला छनोटबाट आएका खेलाडीलाई एक महिनाको अभ्यासपछि अन्तिम १४ मा झार्दै राष्ट्रिय टोली निर्माण गर्नेछ । उक्त टोली आगामी पुस ५ देखि ११ गतेसम्म बङ्गलादेशमा सञ्चालन हुने अन्तर्राष्ट्रिय खेलमा नेपालका तर्फबाट भाग लिनेछ ।

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा प्रतियोगिता हुन लागेको हो । नेपालले पहिलो पटक यू–२३ राष्ट्रिय टोली निर्माण गरी भाग लिन लागेको प्रतियोगिता खेल्न पाउनेमा २२ वर्षीय केसी ढुक्क छन् । “खेलाडीका रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने इच्छा थियो”, केसीले भने, “टोलीमा पक्कै पर्छु भन्ने लागेको छ, मेहनत पनि त्यसै अनुसार गरिहेको छु ।”

दुई वर्षअघि काठमाडौँमा सम्पन्न भएको ‘एनभिए कप’बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा रविले डेब्यु गरेका थिए । गलकोट स्पोर्टस् क्लबबाट प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन पनि जितेका थिए । ओपन स्पाइकर रविले त्यसता ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेलेका थिए ।

१४–१५ वर्षको उमेरदेखि भलिबल खेल सुरु गरेका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिएका छैनन् । “प्रतियोगिताका बेला हुने सामान्य अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर पाएको छैन”, उनले भने, “अहिलेसम्म कुनै क्लबमा पनि आवद्ध भएको छैन ।”

Ads

सम्बन्धित पोष्टहरू