काठमाडौं– ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् ।
त्यसपछि मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।
मौन अवधि सुरु हुने दिन शीर्ष नेताहरुको दौडधूप व्यापक रह्यो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १३ दिन अघि दार्चुलाको खलंगाबाट सुरु गर्नुभएको चुनावीसभा झापाको गौरीगञ्जमा समापन गरे ।
भारतले सिमाना मिचेको पश्चिम उत्तरी क्षेत्र लिपुलेक ,कालापानी क्षेत्रबाट सुरु भएको यो अभियान दक्षिणी भारतीय सिमानामा नै समापन भएको छ । निर्वाचन प्रचारको आज अन्तिम दिन साँझ आफ्नै निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्जको विशाल आमसभालाई सम्बोधन गरेर अध्यक्ष ओलीले आमसभाको समापन गरेका हुन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अछामबाट चुनावी सभा समापन गरे । उनले पाँच दलीय गठबन्धन १०–१५ वर्षसम्म जारी रहनुपर्ने बताए । चौरपाटी गाउँपालिकामा आयोजित सत्ता गठबन्धनको अन्तिम चुनावी आमसभालाई बिहीबार सम्बोधन गर्दै देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको संविधानलाई नै धरापमा पार्ने कार्यविरुद्ध गठबन्धन बनेको बताउँदै राजनीतिक स्थायित्वको लागि गठबन्धन १०–१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंबाट सभा समापन गरे । उनले सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभामा बोल्दै काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाकी उम्मेदवार रहेकी घर्तीलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याएका छन् ।
मङ्सिर ४ गतेको चुनावलाई नेपाली नागरिकले प्रतिगमनलाई परास्त गर्ने अवसरको रूपमा लिनुपर्नेसमेत उनले बताए । अध्यक्ष प्रचण्डले केपी ओलीले संविधानमा हस्ताक्षर गरेर पनि संविधानको रक्षक र गणतन्त्रको पक्षधर हुन नसकेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्