Ads

गर्भवती महिलाका श्रीमानलाई अत्यन्त उपयोगी टिप्स


काठमाडाैँ । हरेक दम्पतीका लागी आफ्नो सन्तानको आगमन खास हुन्छ । यस्तोमा उनीहरू गर्भावस्थामा विशेष ख्याल राख्ने गर्दछन् । यो समयमा हरेक गर्भवती महिला आफ्नो श्रीमानको माया र साथ खोज्छिन् । गर्भवती महिलालाई यो अवस्थामा उनको श्रीमानले सघाउने वा सहयोगीको रूपमा भूमिका खेल्नु पर्ने हुन्छ । यसका लागी श्रीमानले निम्न तवरबाट श्रीमतीको ख्याल राख्नुपर्ने हुन्छ ।
– श्रीमतीको ख्याल राख्ने
गर्भवती श्रीमतीलाई कति बेला के खानेकुरा चाहिन्छ ? कुन औषधी खाइन् ? कुन बाँकी छ ? लगायतका कुरामा श्रीमान्ले ख्याल राख्ने गर्नु पर्दछ । यस्तै श्रीमतीलाई अस्पताल लाने, सही खानपान दिने, पहिरन लगाइदिने, जस्ता कुरामा श्रीमानले ख्याल गर्नु पर्दछ ।
– सकारात्मक कुरा मात्र गर्ने
गर्भवती श्रीमतीको अगाडी श्रीमानले आफूलाई सधैँ खुसी देखाउनु पर्दछ । यस बेला श्रीमतीसँग राम्रो र सकारात्मक कुरा मात्र गर्नु पर्दछ । केही प्रसङ्ग वा घटना सुनाउँदा पनि राम्रा कुराहरू मात्र सुनाउनु पर्दछ । साथै राम्रो काम गरेर देखाउनु पर्दछ ।
– श्रीमती गरिरहेका काममा सघाउने
गर्भधारणपछि महिलाको काम गर्ने क्षमता बिस्तारै कम हुँदै जान्छ । यो क्रम बच्चालाई जन्म दिइसकेको केही महिनासम्म रहन्छ । यस स्थितिमा घरका काममा श्रीमतीलाई श्रीमानले सघाउने र केही काम आफूले जिम्मा लिने गर्नु पर्दछ ।
– सुन्दर भएको महसुस गराउने
गर्भधारणपछि खानपान लगायतका अन्य कारण श्रीमतीको वजन बढ्ने र बाहिरी सुन्दरतामा ह्रास आउन सक्छ । यस्ता कुराले गर्भवती महिलालाई चिन्ता हुन्छ । तसर्थ श्रीमानले यस्ता कुरामा गाली गर्ने भन्दा यी कुरा प्राकृतिक हुन् भनेर सम्झाउने र उनी निकै सुन्दर देखिएको बताउनु पर्दछ । बरु बिहान साँझ केही समय पैदल घुमाउन समेत लानु पर्दछ ।
– हरदम तयार
श्रीमतीलाई राती वा कुनै पनि बेला विभिन्न समस्याले सताउन सक्छ । साथै मिति नजिकिएकाहरूको कुनै पनि बेला बच्चा जन्मन सक्छ । तसर्थ श्रीमानले यी सबै अवस्थामा आफूलाई तयार राख्नु पर्दछ । साथै श्रीमतीलाई पनि प्रसवको समयमा आउने परिवर्तनको बारेमा जानकारी गराई कसरी प्रसवलाई सहज र कम पीडादायक बनाउने भन्ने कुरामा ध्यान दिनु पर्दछ ।
– यी कुरामा चनाखो रहनुहोस्
श्रीमती गर्भवती छिन् भने घरमा कुनै पनि पार्टी, भोज सकेसम्म गर्नु हुँदैन । यो गर्भवती महिलालाई झर्को र बोझिलो लाग्न सक्छ । यस्तै गर्भावस्थामा श्रीमतीका शरीरमा आएका विभिन्न परिवर्तनहरू स्वाभाविक हुन् कि अस्वाभाविक भनेर पनि ख्याल गर्नु पर्दछ ।
Ads

सम्बन्धित पोष्टहरू