काठमाडौं, । काठमाडौँ क्षेत्र नं १ बाट विजयी भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका उनले सात हजार १४३ मत ल्याई निर्वाचित भएका हुन् । उनी निकटतम् प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा चौथोपटक विजयी भएका हुन ।
निर्वाचित भएपछि काठमाडौँ निर्वाचन क्षेत्र १ का मतदातालाई हार्दिक धन्यवाद दिँदै उनले यस जितले लोकतन्त्रवादीको शिर माथि उठेको बताए । लोकतन्त्रमा जनता सर्वोच्च र निर्णायक हुने र उनीहरूको मतले नै राज्य सञ्चालन हुने हुँदा यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै नेता सिंहले स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउँछ भने । आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्रका लागि गरेको समर्पण र स्वच्छ छविकै कारण यस क्षेत्रका जनताले पटकपटक विजयी गराएका उनको भनाइ छ ।
उनले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व ग¥यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पन्नता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गरे । अहिलेको अर्थतन्त्रको सङ्कट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफूले पहल गर्ने बताए ।
उनले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गरे । पूर्वउपप्रधानमन्त्री सिंहले भने,“सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।”
निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उनले जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार बताए । नेता सिंहले निर्वाचन घरदैलोका क्रममा मतदाताले राखेका विकास निर्माण, जनजीविकाका सवाल र राजनीतिक स्थिरताका लागि आफूले विगतमा जस्तै एक जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै नेता सिंहले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए ।
विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका छोरा उहाँ सानो उमेरदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका हुन । विसं २०१२ मा जन्मनुभएका उहाँ २०३४ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभयो भने २०३६ सालमा अध्यक्ष बने । विसं २०४७ देखि निरन्तर १० वर्षसम्म नेपाली कांग्रेसको काठमाडौँको सभापति रहनुभयो भने नेपाली कांग्रेसको विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उपसभापति बने । विसं २०६४ मा पार्टी एकीकरणपछि २०६७ मा भएको १२औं महाधिवेशनबाट उनी महामन्त्रीमा निर्वाचित भए ।
उनले २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर छ वर्षको कार्यकाल पूरा गरे । विसं २०६४ मा भएको पहिलो संविधानसभा र त्यसपछिका तीनवटै आम निर्वाचनमा उहाँले काठमाडौँ–१ मा क्षेत्रबाट विजय हासिल गर्दै आए । उनी सुशील कोइरालाको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए । पार्टी र सरकारमा रहँदा सधैँ इमान्दार र निष्ठा राख्नुहुने उहाँ विकासप्रेमी नेताका रूपमा चिनिन्छन् ।
प्रतिक्रिया दिनुहोस्