बुटवल । गुल्मी २ को प्रतिनिधिसभा सदस्यमा एमाले सचिव गोकर्णराज विष्ट निर्वाचित भएका छन् । उनले २८ हजार ४७६ मतसहित जित निकालेका हुन् ।
विष्टले एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई २०३४ मतको अग्रतासहित पराजित गरेका हुन् । झाँक्रीले २६४४२ मत पाएकी छन् । यो क्षेत्रमा यसअघि पनि विष्ट नै निर्वाचित भएका थिए ।
त्यस्तै गुल्मी १ मा बुधबार दिउँसोदेखि सुरु भएको मतगणनामा एमालेका प्रदीप ज्ञवालीले प्रारम्भिक अग्रता हासिल गरेका छन् । ५७७ मतका साथ उनी अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका चन्द्र भण्डारी ५०७ मत ल्याएर पछ्याइरहेका छन् । राप्रपा उम्मेदवारले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १६ मत प्राप्त गरेका छन् ।
प्रतिनिधिसभातर्फ कालिगण्डकी गाउँपालिका १ अन्तर्गत हर्मीचौरबाट गणना सुरु गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १ बजेदेखि मतगणना गर्न सुरू गरिएको हो । प्रदेश सभातर्फको मतगणना पनि केही समयपछि सुरू गरिने बताइएको छ । गुल्मी १ मा एक लाख १९ हजार २८१ मतदाता छन् । ७० हजार ६ सय मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्