एजेन्सी
स्टकहोम । स्वीडेनमा जलवायु कार्यकर्ता ग्रेटा थनबर्गसहित ६०० भन्दा बढी युवाहरूले शुक्रबार स्विडेनको राज्यलाई जलवायु निष्क्रियताको आरोप लगाउँदै मुद्दा दायर गरे ।‘स्वीडिस कानुनी प्रणालीमा यति ठूलो मामिला कहिल्यै भएको थिएन’ मुद्दा दायर गर्ने मध्येकी एक इडा एडलिङ अरोराले बताइन् ।
शुक्रवार शहरमा भएको विरोध प्रदर्शनको क्रममा स्टकहोम जिल्ला अदालतमा प्रतीकात्मक रूपमा पेस गरिएको मुद्दा पहिले इलेक्ट्रोनिक रूपमा अर्को स्टकहोम अदालतमा दायर गरिएको अरोराले बताइन । स्वीडेनको नयाँ दक्षिणपन्थी सरकारले कमजोर जलवायु लक्ष्यहरूको लागि बढ्दो आलोचनाको सामना गरिरहेका बेला सरकारविरुद्ध मुद्दा दायर भएको हो ।
‘जलवायु संकट चिन्ताजनक र डरलाग्दो भएको’ भन्दै आफू प्रदर्शनमा भाग लिएको १९ वर्षीया विद्यार्थी मोआ विडमार्कले बताइन् । ‘हामी विपत्तितर्फ जाँदैछौँ ’, उनले भनिन् ।
हालैका वर्षहरूमा बढ्दो संख्यामा संगठन र नागरिकहरूले उनीहरूले जलवायुमा सरकारको निष्क्रियता भएको दाबी गर्दै सरकारविरुद्ध अदालतहरूमा मुद्दा दायर गरेका छन् । यसैबीच, सन् २०१९ को डिसेम्बरमा नेदरल्याण्डको सर्वोच्च अदालतले सरकारलाई पर्यावरण समूहले ल्याएको एउटा ऐतिहासिक मुद्दामा २०२० सम्ममा हरितगृह ग्यासहरूलाई कम्तीमा २५ प्रतिशतले घटाउन आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्