काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– ०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको छ ।
साउथ एसियन रिजनल च्याम्पियन्सिप २२ देखि २५ मंसिरसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरे ।
सो सम्झौताअनुसार नेपाली घरले प्रतियोगितामा भाग लिने खेलाडीहरूका लागि खान, बस्नका लागि करिब तीन लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ ।
चतुरानन्द राजवैद्यले नेपालीपन भएको होटल र प्रतियोगितास्थलको नजिक भएकोले नेपाली घरलाई चयन गरेको बताए । नेपाली घरका प्रबन्ध निर्देशक श्रेष्ठले नाफा नोक्सानभन्दा नेपाली खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रायोजन गरेको बताए । श्रेष्ठ नेपाल टेनिस संघका उपाध्यक्ष पनि हुन् ।
प्रतिक्रिया दिनुहोस्