बाजुरा, । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन भएको आज करिब १३ दिन भयो । तर बाजुरामा भने अझै मत गणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगले मत गणना सुरु गर्न निर्देशन जारी गर्दा पनि बाजुरामा मत गणना अनिश्चित बनेको छ । मतगणना थाल्न आयोगको निर्देशन आएपछि हिजो साढे ४बजे जिल्ला निर्वाचन अधिकृत ढांकाराम पौडेलले सर्वदलीय बैठक बोलाए ।
पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकाले अनुपस्थित भयो । बैठकमा नेकपा एमाले अनुपस्थित हुँदा कुनै निर्णय हुन सकेन मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएपछि आज विहिबार बिहान ७ः००बजे पुनः एमालेलाई बैठकमा उपस्थित हुन आह्वान गर्दै बुधबारको बैठक स्थगित भएको थियो । आजको बैठकमा पनि एमाले अन उपस्थित भयो । आफूहरूको माग सम्बोधन नभए सम्म एमालेले बैठक बहिस्कार गर्ने जिल्ला सचिव भरत थापाले बताए ।
मङ्सिर ४ गते निर्वाचन सकिएपछि घरमा रहेका विद्यार्थी नेता चेतन ऐडीको हत्यामा संलग्नहरूलाई पक्राउ नगर्दा सम्म र एमाले कार्यकर्ताहरूलाई रिहा नगर्दा सम्म आफूहरू सर्वदलीय बैठकमा सहभागी नहुने सचिव थापाको भनाई छ ।
चेतनका परिवारले २२ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरु सबैलाई पक्राउ नगर्दा सम्म आफूहरूको माग सम्बोधन नहुने थापाले बताए । घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्दा पक्राउ परेका ११ जनालाई विना सर्त रिहाको माग समेत राखिएको छ ।
यता मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेल भने अहिले सर्वदलीय बैठक बसिरहेको बताए । ‘हामी सर्वदलीय बैठकमा छौँ एमालेका नेताहरू आउनु भएको छैन हामी उहाँहरूलाई कुरिरहेका छौँ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्