Ads

चिसोले मुगुमा पहिराबाट बिस्थापितको बिचल्ली


छायाँनाथ, । चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका–११ का पहिरोपीडितको बिचल्ली भएको छ । गत असोज तेस्रो साता गएको पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो । पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन् ।

बाढीपहिरोबाट बिस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँ नजिकैको जङ्गलमा त्रिपाल हालेर बसेका छन् । “चिसो निकै बढ्यो, त्रिपालमुनि बास बस्न सकिने अवस्था छैन”, पीडित शेरसिंह भर्गीले भने “गाउँमा घर पहिरोले पुरियो, अब बस्न कता जाने होला ।”

त्रिपालभित्रको बसाइँ कष्टकर बनेको पीडित परिवारले बताएका छन् । बाढी पहिरोबाट झयारी, सिगाडी, घुइर, तल्लो सालिमलगायत बस्तीमा ठूलो सङ्ख्यामा स्थानीयवासी विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका बान्दिालाई सरकारले राहत र पुनःस्थापनाका लागि कुनै पहल नगरेको उनीहरुले बताएका छन् ।

“जाडोले बिरामी परिने डर छ, बालबालिकालाई जोगाउन गाह्रो भएको छ”, त्रिपालमुनि बस्दै आउनुभएकी बालिकन्या बोहराले भने, “न्यानो कपडा समेत छैन, कहिँकतैबाट सहयोग पाइएको छैन ।”

चिसो मौसम सुरुभएसँगै सालीमका ६२ परिवार सबैभन्दा बढी समस्यामा छन् । छायाँनाथ रारा–११ तल्लो सालीमा, वडा नं ८ झ्यारी र सिगाडी तथा वडा नं ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन् । स्थानीयमा आखाँ पाक्ने, पेट दुःख्ने, टाउँको दुःख्नेलगायत समस्या देखा परेको स्थानीय बेलधरा कुमाइले बताए ।

असोजमा गएको पहिरोका कारण छायाँनाथ रारा नगरपालिका साथै सोरु र खत्याड गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीय बिस्थापित भएका थिए । विद्यार्थीको पठनपाठनमा समस्या भएको स्थानीयले बताएका छन् । पहिरोमा पुरिएर सालिमा गाउँका आठ जनाको ज्यान गएको थियो । नवनिर्वाचित सङ्घीय सांसद ऐनबहादुर शाही र प्रदेशसभा सदस्य जितबहादुर मल्लले पहिरोबाट बिस्थापित परिवारको राहत तथा पुनःस्थापानका लागि पहल गर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू