हेमन्त केसी
सुर्खेत । ठेकेदारको लापरवाहीले छेडा-थलह-सानाखोला-चाँदे-जुम्ला सडक आयोजना अललपत्र परेको छ । जाजरकोटको छेडादेखि जुम्ला जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडक खण्डको ३० किलोमिटर ट्रयाक खोल्न बाँकी नै छ ।
नेपालगन्जको अमर सिस्ने जेभीले सानाखोलादेखि जुम्ला सिमानासम्म ३० किलोमिटर सडक निर्माणको ठेक्का लिए पनि एक वर्षमा १५० मिटर ट्रयाक मात्र खनिएको छ ।
पाँच वर्षभित्र सडक निर्माण सक्ने लक्ष्य रहेपनि काम सुस्त छ । कम्पनीले कुल ठेक्काको १० प्रतिशत अर्थात १ करोड ३५ लाख रकम लिइसकेको पूर्वाधार विकास कार्यालयका जाजरकोटका प्रमुख सोहिन्दर यादवले जानकारी दिए ।
अमर सिस्ने जेभी नेपालगञ्ज बाँकेले १५ करोडमा ठेक्का लिएको पूर्वाधार कार्यालयले जनाएको छ । कम्पनीले आउँदो ०८२ पुस ४ गतेभित्र सडक निर्माण गरिसक्ने गरी ०७८ पुस ५ गते ठेक्का लिएको हो ।
पेस्की रकम बुझेर पनि लामो समयसम्म काम सुरु नगरेपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीले पटक–पटक ताकेता गरेको छ । कार्यालयले ४ पटक पत्राचार गरेर कम्पनीलाई तीब्र गतिमा सडक निर्माण गर्न ताकेता गरेको छ । तर कार्यालयको ताकेतालाई ठेकेदार कम्पनीले वेवास्ता गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्