काठमाण्डौ । दोलखामा प्रतिनिधिसभातर्फ नेकपा माओवादीका उम्मेदवार गंगा कार्की बिजयी भएका छन्। कार्कीले तीन सय १८ मतान्तरसहित विजयी भएका हुन्। कार्कीले ३६ हजार ८ सय ९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ७८ मत प्राप्त गरे।
यो सँगै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ। जसअनुसार सबैभन्दा बढी नेपाली कांग्रेसले ५७ सिट प्राप्त गरेको छ भने नेकपा एमाले ४४ सिट प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले १८, नेकपा एस दश, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान सात सिट हात पारेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवाहरु पाँच स्थानमा विजयी भएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीले चार, नागरिक उन्मुक्ती पार्टीले तीन र नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक सिटमा विजयी भएका छन्।
त्यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ ११० सिट जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा छ भने नेकपा एमाले ९२, माओवादी केन्द्र ५३, नेकपा एस १५ स्थानमा विजयी भएका छन्। यसैगरी स्वतन्त्र उम्मेदवारहरु १२, जनता समाजवादी र राप्रपा समान ११, लोकतान्त्रिक समाजवादी पार्टी नौ, जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टी समान सात र हाम्रो नेपाली पार्टी, नेपाल समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले १-१ स्थानमा विजयी हासिल गरेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभातर्फको अन्तिम मत परिणाम सार्वजनिक हुन बाँकी छ। पछिल्लो विवरण अनुसार नेकपा एमाले २७ लाख ८८ हजार ३५६ मत सहित प्रथम स्थानमा छ भने नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत प्राप्त गर्दै दोस्रोमा रहेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको ११ लाख २४ हजार ५४३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीको पाँच लाख ८६ हजार ३३८ मत प्राप्त आएको छ। थ्रेसहोल्ड कटाउन सफल अन्य दुई दलमा जनता समाजवादी पार्टीले चार लाख ३० हजार ९४६ र जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत प्राप्त गरेका छन् । प्रत्यक्षतर्फ दश सिट हात पारेको नेकपा एस भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन संघर्षरत छ।
प्रतिक्रिया दिनुहोस्