लमजुङ । लमजुङमा ३०औँ त्रिवेणी कप सञ्चालन हुने भएको छ । आगामी १२ पुसदेखि ३० औँ त्रिवेणी कप सञ्चालन हुने भएको हो । लमजुङ सदरमुकाम बेंसिशहरस्थित सहजी खेलमैदानमा सञ्चालन हुने कपमा यस वर्ष १६ टिमको सहभागिता गराउने क्लबले जनाएको छ ।
जिल्लामा फुटबल खेलको विकास र पगरी व्यावसायीकरण गर्ने र उच्च स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको र त्रिवेणी क्लबले नयाँ खेलाडीलाई प्रोत्साहन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने, खेल पर्यटनको विकास र युवाहरूलाई अनुशासित र मर्यादित बनाउनका लागि त्रिवेणी कप सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।
लमजुङ, मनाङ, गोरखा, तनहुँ, चितवन, कास्की, नवलपुर, काठमाडौँ लगायतका जिल्लाहरूबाट फुटबल खेल्नलाई खेलाडीहरू वर्षेनी आउने गरेको क्लबले जनाएको छ । त्रिवेणी कपको विजेतालाई नगद पाँच लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने उप विजेतालाई नगद तीन लाख रुपैयाँ, रजत पदक र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए । ।
त्यस्तै, सेमिफाइनलका उपविजेता दुवै टिमलाई ५०/५० हजार रुपैयाँ पुरस्कार वितरण गर्ने आयोजक क्लबले जनाएको छ । क्लबका अनुसार त्रिवेणी कप फुटबल प्रतियोगिताको सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५/१५ हजार रुपैयाँ स्वर्ण पदक र प्रमाणपत्र वितरण गर्ने भएको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि ४७ लाख १० हजार रुपैयाँ खर्च हुने आयोजक त्रिवेणी क्लबले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्