Ads

मुख्यमन्त्रीको कार्यालय सरेपछि देउखुरीमा बढ्यो चहलपहल


देउखुरी, । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको कार्यालय सरेपछि स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा चहलपहल बढ्न थालेको छ । स्थानीयहरू स्वतस्फुर्त आ–आफ्ना घर वरिपरि, बाटोघाटो सरसफाईमा सक्रिय भएर लागेको राप्ती गाउँपालिका–३ का वडा अध्यक्ष उमेशकुमार अधिकारीले बताए । “मुख्यमन्त्रीको कार्यालय नै मेरो वडामा रहने भएकाले यो वडालाई चिटिक्कै पार्ने काम भइरहेको छ”, अध्यक्ष अधिकारीले भने ।

“मुख्यमन्त्रीको कार्यालय सरेसँगै देउखुरीमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिती देखिएको छ”, स्थानीय किशोर घर्तीले भने “सवारी साधनको आवगमन बाक्लो भएको छ ।”दुई वर्ष दुई महिनाअघि प्रदेशसभाले देउखुरीलाई प्रदेशको राजधानी तोकेको थियो ।

प्रदेश राजधानीका लागि साना र ठूला गरि २४ वटा भवन छन् । प्रदेशसभा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेशसभा भवनमा हाल रङ्गरोगनलगायतका काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए ।

उहाँका अनुसार प्रदेशका सबै मन्त्रालयलाई पुग्ने गरी पूर्वाधारको व्यस्थापन भइरहेको छ । यसअघि दुई वटा मन्त्रालय पहिले नै स्थान्तरण भइसकेका थिए भने बाँकी मन्त्रालयको काम बुटवलबाटै भइरहेको थियो ।

गत सोमबार मध्यराति प्रदेश मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय बुटवलबाट त्यहाँ सारिएएको थियो । यही मङ्सिर ४ मा निर्वाचित हुनु भएका प्रदेशसभाका सांसदहरुको सपथ पनि यसै प्रदेशसभा भवनमै गराउने तयारी रहेको मुख्यमन्त्री कुलप्रसाद केसीले बताए ।

Ads

सम्बन्धित पोष्टहरू