Ads

चुनाव हारेपनि बाजुरा एमालेमा कुनै हारको अनुभव छैन


बाजुरा । नेकपा एमाले बाजुराले यो पटकको चुनावमा नमिठो पराजय भोगेको छ । जितको सुनिश्चितको सन्देश सहीत चुनावी प्रचारमा जुटेको एमालेले अन्तिम मतपरिणाम आउँदा नमिठो हार बेहोरेको हो । जुन अन्तरको हारको नेकपा एमाले बाजुराले कल्पना समेत गरेको थिएन् ।

प्रतिनिधी सभा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेभन्दा ५४३७ मत कम ल्याएर नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पराजित भएका छन् । पाण्डेले ३१७८६ मत प्राप्त गर्दा थापाले २६३४९ मत ल्याएका छन् ।

यति धेरै अन्तरले पराजित हुने अवस्था नै हैन्, हामी जित्ने निश्चित थियो, तर सत्ता, शक्तिको दुरुपयोग, धाँधली र बुथ कब्जाकै कारण चुनाव हार्नु परेको निष्कर्षमा नेकपा एमाले रहेको पार्टी सचिव भरत थापाको भनाई छ । नेकपा एमालेले २०७० पछि संसदीय चुनाव यो पटक हारेको हो ।

चुनाव हारेपनि नेकपा एमालेको सक्रिय र उत्साह भने हारको पीडाले थलिएको जस्तै छैन् । नेताहरु एक पछि अर्को पालिका पुगेर मतदाता भेट्ने, रमाइलो गर्ने, भावी योजना सुनाउने, हार्न बाध्य पारिएको घटना बारे जानकारी दिने कार्यमा सक्रिय छन् ।

बाजुरामा हामीले चुनाव हारेकै छैनौं, कहिल्यै हार्ने अवस्था पनि छैन्, हार त्यतिबेला हुन्छ, जतिबेला कि हामी विभाजित हुन्छौं, कि काँग्रेसले सत्ता र शक्तिको दुरुपयोग गरेर धाँधली गर्छ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भने ।

यो पटक हामी बीच एकता थियो, जितको नजिक थियौं, काँग्रेसले सत्ताको बलमा करिब १० हजार मत धाँधली गरेर फर्जि हाल्यो र हामीले हार्नु पर्यो, थापाले मतदाता भेटघाटका क्रममा भन्ने गरेका छन् । एमाले बाजुराले बडीमालिका, गौमुल र खप्तड छेडेदह गाउँपालिकाका मतदातालाई भेटघाट गरिसकेको छ ।

चुनाव पराजित भएको घोषणा पछिल्लो दिन देखिनै नेताहरु मतदाता, नेता तथा अगुवा कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । पार्टीका तर्फबाट आयोजित भेटघाट कार्यक्रममा पनि उत्साहजनक उपस्थिति देखिएको छ ।

स्थानीय तहमा ६ वटा पालिका सरकार एमालेको पक्षमा छ, जिल्ला समन्वय एमालेकै नेतृत्वमा छ, हामीले संघ र प्रदेश सभा सदस्य गुमाएका हौं, यसमा निराश हुनु पर्ने अवस्था नै नरहेको नेकपा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाको भनाई छ । चुनाव हारेपनि जनमत हारेको अवस्था छैन्, हामी फेरि अर्को पटक जितको सुनिश्चितता हुने गरि फर्किने आश्वासन नेताहरुले कार्यकर्तालाई दिने गरेका छन् ।

जहाँ पुगेपनि नेताहरु निराश नहुन अनुरोध गर्ने गरेका छन् । पार्टी नेताहरु कर्णबहादुर थापा, लालबहादुर थापा, प्रकाश शाह, बसुन्धरा रोकाया, लालबहादुर ओली, गगन रावल सहीत सबै जसो नेताहरु मतदातालाई धन्यवाद दिन गाउँ केन्द्रीत बनेका छन् । न अभिव्यक्तिमा निराशा सुनिन्छ, न अनुहारमा नै निराशको संकेत भेटिन्छ, हारपछि पनि नेताहरु थप उत्साहीत र उर्जावान जस्तै देखिने गरेका छन् ।

शान्तिपूर्ण निर्वाचनको पक्षमा हामी थियौं, सत्ता र शक्तिको यति धेरै चरम दुरुपयोग होला भन्ने अपेक्षा समेत थिएन्, हाम्रो सोझोपन र इमान्दारीतालाई फाइदाको रुपमा लिने काम भयो, यो जिल्ला बासी र राजनीतिका लागि नै दुर्भाग्य हो, नेकपा एमाले केन्द्रीय सदस्य प्रकाश शाहले भन्नु भयो ।

एमालेको तर्फबाट प्रतिनिधी उम्मेदवार कर्णबहादुर थापाले मार्ने मारेर, धाँधली गरेर, बुथ कब्जा गरेर जितको चुनावबाट विजयी उम्मेदवारलाई विजयी सभामा गएर बधाई दिन मनले नमानेको भन्दै आफुले नै पराजित हुँदा २०५६ सालबाट सुरु गरेको परम्परालाई तोडेका छन् ।

प्रदेश सभाका उम्मेदवार लालबहादुर थापा र बल्देव रेग्मीले बुथ कब्जा गरि, सत्ता शक्तिको दुरुपयोग गरि चुनाव जित्नुले जनमत माथिको नै अपमान भएकोले इतिहासमै कलंकको टिको लाग्ने काम यो चुनावमा भएको निष्कर्षमा छन् । नेकपा एमाले नेताहरु गाउँमा पुग्दा पनि एमाले नेता कार्यकर्ता सहीत मतदाता पनि निराश देखिदैनन् ।

अविर मालाको भव्य स्वागत, उत्साहजनक उपस्थितिले एमालेमा कुनै हारको अनुभव नै नदेखिएको अवस्था छ । सांसद हुने अवसर गुमाएपनि जनमत र जनविश्वास नगुमाएको नेकपा एमाले नेता लालबहादुर ओलीको भनाई छ । युवा विद्यार्थी सबै पक्तिको सक्रियता र उत्साहले नेकपा एमालेलाई थप बिलियो र शसक्त बनाउन योगदान पुग्ने विश्वासमा नेताहरु छन् ।

नेकपा एमालेले प्रत्यक्ष तर्फ सांसद गुमाएपनि प्रतिनिधी सभामा समानुपातिक तर्फको कोटाबाट केन्द्रीय सदस्य दयालबहादुर शाहीलाई सांसदको रुपमा पाउने निश्चित जस्तै छ । बाजुरा प्रत्यक्ष चुनाव हारेर पनि सांसद विहिन हुने अवस्था छैन् ।

बुथ कब्जा र बुथमा भएको विवादमा बाजुराले यो पटक दुई जना युवा गुमाउनु परेको छ । कर्णबहादुर थापाले योसँगै संसदीय चुनावमा तेस्रो हार बेहोरेका छन् । उनले २०५६, २०६४ र २०७९ मा हार बेहोरेका हुन् । लालबहादुर थापा र बल्देव रेग्मीले भने यो पहिलो हार बेहोरेका हुन् ।

नेपाली काँग्रेस र नेकपा एमालेले बाजुराका सबै संसदीय चुनावमा बराबरी जित निकालेका छन् । २०४८, २०५६, २०६४ र २०७९ मा नेपाली काँग्रेसले जितेको छ । भने २०५१, २०७० र २०७४ मा नेकपा एमालेले जितेको छ । स्थानीय तह निर्वाचन २०७४ मा ६ पालिका सहीत समन्वय काँग्रेसको पक्षमा हुँदा नेकपा एमाले वाम गठबन्धनले चुनाव जितेको थियो । भने २०७९ मा ६ पालिका र समन्वय एमालेको पक्षमा हुँदा लोकतान्त्रीक वाम गठबन्धनले चुनाव जितेको छ ।

चुनावमा बेहोर्नु परेको पराजयको कारण र आगामी योजना बारे जानकारी गराउन नेताहरुले अगुवा कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । केही दिनमै बुढीगंगा र त्रिवेणी नगरपालिकाको सयुक्त भेटघाट फालासैनमा गरिने भएको छ । लगत्तै कोल्टी क्षेत्रमा पनि नेताहरु पुग्ने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू