Ads

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण गरिँदै


काठमाडौं, । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर रामचन्द्र पौडेलले राससलाई जानकारी दिए । यही मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो ।

केही दिन सुरुङमा भरिएको पानी बिहीबारदेखि महाँकालचौर शाखामा पठाइएको उनीले बताए । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको थियो ।

असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ । यो पानी काठमाडौँस्थित सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो । आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरुङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

यही मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरुङ सफा गरेको थियो । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ । यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू