Ads

फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा महानगर चुकेकै हो !


काठमाडौं । फोहोर व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने योजनामा काठमाडौं महानगर चुकेको देखिएको छ । गत १ साउनमा सूचना सार्वजनिक गर्दै उसले ‘स्रोतमै फोहोर वर्गीकरण गर्न र नगरेको पाइए दण्ड जरिमाना गर्ने’ चेतावनी दिएको थियो । तर, जारी गरेको चार महिनासम्म पनि सूचना कार्यान्वयन हुन सकेको छैन ।

स्थानीय तह निर्वाचन हुँदै गर्दा फोहोर नउठेर विकराल समस्या आइपरेको थियो । महानगरदेखि केन्द्र सरकारसम्म उपत्यकाको फोहोर समस्या समाधानतिर लागे । तत्कालका लागि फोहोर उठ्न थालेपछि महानगरले पनि दीर्घकालीन योजना बिर्सेको पाइएको छ भने वर्गीकरण विषयसमेत बेवास्ता भएको छ । महानगरपालिकाले ठाउँ अभावका कारण फोहोर वर्गीकरण गर्न नसकिएको बताउँदै आएको छ ।

स्थान पहिचानसँगै कुहिने फोहोर प्रयोग गरी मल बनाउने तयारी भइरहेको उसको भनाइ छ । तर, यसका लागि आवश्यक पहल कदमी, सम्बन्धित निकायसँग समन्वय र केन्द्र सरकारलाई झक्झकाउनेमा भने महानगर चुकेको छ । स्थानीय माग सम्बोधन गर्नेमा सरकार सकारात्मक देखिएपछि पछिल्लोपटक सहमति जुटेसँगै निर्वाध रूपमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

१६ वर्षदेखि नुवाकोट सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएकोमा सरकारले दिगो रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सिमानास्थित बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आएको छ । ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले अहिले विकल्पका रूपमा बन्चरेडाँडामै फोहोर व्यवस्थापन कार्य गर्दै आएको छ । यो खबर आजको राजधानीदैनिकमा प्रकाशित छ । 

Ads

सम्बन्धित पोष्टहरू