Ads

कागेश्वरी मनोहरामा विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण


काठमाडौं ।  काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । कागेश्वरी मनोहराले नगरभित्रका १६ वटै सामुदायिक विद्यालयमा अध्ययनरत आठ हजार पाँच विद्यार्थीको निः शुल्क स्वास्थ्य परीक्षण गर्न लागेको हो ।

नगरप्रमुख उपेन्द्र कार्कीले नगरवासीलाई स्वस्थ राख्न मेयरसँग ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा, सरकारी स्कुलका बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा, नगरस्तरीय अस्पताल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको बताए । उनले कागेश्वरी मनोहराले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमितामा राखेर नीति तथा कार्यक्रम बनाएर लागू गरेको बताए । संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाले आन्तरिक स्रोतबाट रु सात करोड बजेट विनियोजन गरेको छ भने शिक्षकलाई तालिमसमेत प्रदान गर्दै आएको छ ।

चालु आर्थिक वर्षका लागि रु दुई अर्ब १५ करोडको बजेट विनियोजन गरेको छ । सबै नगरवासीलाई खानेपानी पुर्‍याउने लक्ष्य लिएको सो नगरपालिकाले तीनवटा खानेपानी आयोजनालाई अगाडि बढाएको छ । उज्यालो र सुरक्षित नगरपालिका बनाउनका लागि कागेश्वरी मनोहराले नगरभित्रका मुख्य सडक र भित्रि सडकमा सिसीटिभी जडान र सडकबत्ती जडानको कामलाई प्राथमिकता दिएको छ । नगरभित्र उत्पादन हुँदै आएको फोहरलाई नगरभित्र नै व्यवस्थापन गर्ने नीति सो नगरपालिकाले लिएको छ ।

नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरालाई खेलकुद नगरीको रुपमा अगाडि बढाउने बताए। मनोहरा करिडोर निर्माण कार्यलाई समेत आफ्नो कार्यकालमा पूरा गर्ने उनको भनाइ छ । नगर प्रमुख कार्कीले मुख्य सडक सङ्घ र प्रदेश सरकारबाट ठेक्का लागेको बताउँदै सडक नबन्दा स्थानीय सरकारले जनताको गुनासो सुन्नुपरेको बताए । “जोरपाटीदेखि थली हुँदै साँखु जाने मुख्य सडकमा मुआब्जा लिने र काम गर्न नदिने प्रवृत्ति बढेको छ, यसले गर्दा काम गर्न बाधा पुगेको छ”, उनले भने ।

स्थानीय सरकारको कार्यअधिकारभित्र नपर्ने सडक स्थानीय सरकारले नबनाएको भन्दै केही राजनीतिक दलले नगरपालिकाको काममा अवरोध पु र्‍याएको उनले बताए । कूल एक लाख १५ हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा ३५ हजार घरधुरी र नौ वडा रहेका छन् । सो नगरपाकिलामा चालु आवमा ५० वटा ठेक्का आयोजना भए पनि चारवटा आयोजनाको काम सम्पन्न भइसकेको, ४२ आयोजना निर्माणको क्रममा रहेको र चार आयोजनाको ठेकेदार नगरपालिकाको सम्पर्कमा नआएको नगरपालिकाले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू