भक्तपुर । इन्जिनियरिङ पेसा अवसर र चुनौती दुवै भएको पेसा भएको सरोकारवालाहरूले बताएका छन् । नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरको डिपार्टमेन्ट अफ आर्किटेक्चर, सिभिल इन्जिनियरिङ एन्ड साइन्स हुम्युनिटीले शुक्रबार गरेको बिदाइ कार्यक्रममा उनीहरूले यसलाई सही रूपमा अगाडि बढे यो पेसामा थुप्रै अवसर रहेको बताए ।
नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य डा.अजयकुमार झाले यो पेसामा रहेका चुनौतीको समाधानका लागि काउन्सिलले सीपयुक्त इन्जिनियरहरू मात्रै काममा खटाउने योजना रहेको सुनाए । यसका लागि काउन्सिलले यो वर्षदेखि परीक्षा लिने तयारी गरिरहेको उनले उल्लेख गरे । इन्जिनियरिङको लाइसेन्सका लागि आगामी तीन महिनाभित्र सञ्चालन हुने जानकारी उनले गराए । झाले त्यसका लागि बढीमा दुई महिनाभित्र फर्म खुल्ने जनाए । ‘परीक्षाको मिति न अहिले नै निश्चित भएको छैन तर बढीमा तीन महिनाभित्र परीक्षा लिने योजना हाम्रो छ,’ उनले भने ।
नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँगुनारायण भक्तपुरका भाइस प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले पढाइ पूरा नभई साँचो रूपमा पढाइ बल्ल सुरु भएको रूपमा लिन सुझाब दिए । ‘कामसँंगसँंगै सिक्ने पनि भएकाले यसलाई पढाइ सुरु भएको रूपमा लिन म सबै पासआउट विद्यार्थीलाई अनुरोध गर्दछु,’ उनले भने । उनले इन्जिनियरिङ पेसामा अवसर र चुनौती दुवै भएको अनुभव सुनाए । तीनवटा समूहका सिभिल इन्जिनियरिङका एक सय ४० जना र आर्किटेक्टका ४६ जना विद्यार्थीलाई बिदाइ गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्