खोटाङ, । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अलपत्र परेको छ । निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठ्माण्डौंका प्रतिनिधिले भवनको ‘नक्कली’ ल्याव रिपोर्ट बनाएको विषय बाहिरिएपछि प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको हो ।
गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले २०७८ असारमा ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औंल्याए पनि निर्माण कम्पनीका प्रतिनिधिले पास भएको नक्कली ल्याब रिपोर्ट तयार पारेर पेस गरेपछि गाउँपालिकाले कारबाही प्रक्रिया अघि बढाएको थियो ।
निर्माण व्यवसायीले भवन निर्माणको काममा ढिलासुस्ती गरेको, गुणस्तरहिन काम गरेको तथा भवनको ग्राउण्ड फ्लोरको पिलरको ल्याब रिपोर्ट फेल आए पनि पास भएको रिपोर्ट बनाएर पेस गरेको खुलेपछि गाउँपालिकाले ११ पुस २०७८ मा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम भवन निर्माणसम्बन्धी ठेक्का रद्द गर्ने, निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेदेखि धरौटी असुल गर्नेसम्मको प्रक्रिया अघि बढाएको थियो ।
कीर्ते ल्याब रिपोर्ट बनाइएको काण्डले करिब ३० प्रतिशत सम्पन्न नहुँदै २०७८ जेठदेखि भवन निर्माणको काम अलपत्र बनेको हो । थप कामअघि नबढ्नेगरी टुंगो लागेर अलपत्र बनेको भवनलाई प्रयोगमा ल्याउने विषयमा छलफल भइरहेको ऐंसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए ।
ठेक्का तोड्नेदेखि धरौटी जफतसम्मका निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत पुगेको थियो । तर, निर्माण व्यवसायीको पक्षमा भएको अल्पकालीन अन्तरिम आदेशलाई उच्च अदालत पाटनले खारेज गरेसँगै निर्माण कम्पनीसँग ठेक्का तोड्नेदेखि धरौटी जफत गर्ने निर्णय कार्यान्वयन गर्ने कानुनी अड्चन हटेको थियो ।
प्रतिक्रिया दिनुहोस्