Ads

आफन्तबाटै बेचिएका २२ जनालाई भारतबाट उद्धार


काठमाडौं । मानव बेचबिखनमा संलग्न गिरोहले विभिन्न प्रलोभनमा पारी बेचबिखनमा परेका २२ जनालाई भारतबाट उद्धारपछि घर फर्किएका छन् । मानव बेचबिखन रोकथाम तथा नियन्त्रणमा सक्रिय संस्था माइती नेपालले एक वर्षमा भारतका विभिन्न ठाउँबाट २२ जनाको उद्धार गरेको जनाएको हो । माइती नेपाल कञ्चनपुरले महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी २२ जनालाई उद्धार गरिएको जानकारी सार्वजनिक गरेको छ ।

उनीहरुमध्ये सबैभन्दा बढी भारतीय राजधानी नयाँ दिल्लीबाट उद्धार गरिएका छन् । नयाँ दिल्लीबाट ६ जनाको उद्धार गरिएको छ । भारतको दिल्लीबाट ६ जना, पुनाबाट ४ जना, सिमलाबाट २ जना, हल्द्धानीबाट २ जना, मुम्बईबाट २ जना, हरियाणाबाट १, चण्डीगढबाट २, बैंगलोरबाट २ र अयोध्याबाट १ जनाको उद्धार गरिएको माइती नेपालकी संयोजक महेश्वरी भट्टले बताईन ।

बालबालिका तथा महिला गरी २ सय ५ जनाको खोजतलासका लागि माइती नेपालमा निवेदन परेको थियो । जसमध्ये ३५ जनाको खोजी गरी माइती नेपालले परिवारको जिम्मा लगाएको छ । ४२ वटा घरेलु हिंसाका निवेदन परेकोमा २७ वटाको समाधान गरिएको संयोजक भट्टले बताइन् । उनका अनुसार सीमा क्षेत्रबाट १ सय ५६ जनाको उद्धार गरिएको छ । जसमा गड्डाचौकी सीमाबाट ८८ र झोलुंगे पुलबाट ६८ जनाको उद्धार गरिएको छ । जसमा १८ वर्ष मुनिका बालबालिका ७५ जना रहेका छन् ।

उद्धार गरिएका मध्ये दुई वटा मात्रै मानव बेचबिखनमा मुद्दा दर्ता भएको छ । महिला तथा बालबालिका परिवारकै सदस्यबाट बेचबिखनमा पर्ने गरेको संयोजक भट्टले बताइन् । ‘अधिकांश परिवारकै सदस्य तथा आफन्तबाट बेचबिखनमा परेको पायौं,’ उनले भनिन्, ‘रोजगारीको प्रलोभनमा पारेर भारतमा पुगाएका घटना धेरै छन्, सामाजिक सञ्जालको दुरुपयोगका कारण समेत मानब बेचबिखन बढाएको छ ।’ राजधानीबाट ।

 

Ads

सम्बन्धित पोष्टहरू