भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गरेका छन् । कार्यक्रममा बिजुक्छेँले खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताए ।
स्वास्थ्य, अनुशासन, देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षाको निम्ति खेलाडीहरू खेलकुदमा सहभागी हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई राम्रोसँग प्रशिक्षित गर्न सके राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताए । आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरबाटै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रीहरु तयार गर्ने भक्तपुर नगरको उद्देश्य रहेकोले प्रतियोगिताको आयोजना गरेको बताए ।
भक्तपुर नगर खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भलिबल, टेबुलटेनिस, उसु, पोर्टबल, कबड्डी, तेक्वाण्डो, कराँते, एथ्लेटिक्स, ब्याडमिन्टन/जिम्नास्टिक, फुटसल, खोखो, बुद्धिचाल, कसिमला पाँय् गरी १३ ओटा खेलका लागि प्रतिस्पर्धा हुने जानकारी दिए । कार्यक्रममा भक्तपुर जिल्ला कबड्डी संघका अध्यक्ष विनोद प्रजापति, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापालगायतले खेलकुदको महत्वबारे आआफ्नो धारणा राखे ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलकुद संस्थाका पदाधिकारी, विभिन्न बाजा टोली, नगरका कर्मचारीलगायतको उपस्थितिमा र्याली निकालिएकाे थियो । दत्तात्रयबाट सुरु भएको र्याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिदस्मृति खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो ।
उद्घाटन कार्यक्रममा निर्णायकका तर्फबाट भलिबल खेलका राष्ट्रिय रेफ्री रुकेश शाही, प्रशिक्षकको तर्फबाट बासु माविका पुनेन्द्रप्रसाद कुसी र खेलाडीको तर्फबाट विद्यार्थी रितिका महर्जनले खेललाई मर्यादित, व्यवस्थित र अनुशासित ढंगले सञ्चालन गर्न शपथ ग्रहण गरेका थिए भने सोही समारोहमा खेलाडीहरुले जिम्नास्टिक खेलको कौसल प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्