Ads

हप्काउने रवि र हप्किने नेताहरु अब एउटै थलोमा हुँदा के होला ?


काठमाडौं । न्यूज २४ टेलिभिजनमा ‘जनतासँग सिधा कुरा’ चलाएर चर्चा कमाएका रबि लामिछाने अहिले प्रतिनिधिसभाका सांसद् बनेका छन् । उनी चितवन २ बाट प्रतिनिधिसभाका निर्वाचित सांसद् हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछाने हिजो कार्यक्रम चलाउँदा नेताहरुलाई हप्काउन खप्पिस थिए । उनले नेताहरुले गरेका गलत गतिविधिको विरोधमा ठूलाठूला कार्यक्रम चलाउने गर्थे । अहिले नेताहरुलाई गाली गर्ने तिनै लामिछाने र उनको गाली र हप्की खाने नेताहरु अब एउटै थलोमा हुने भएका छन् । टेलिभिजन यात्राबाट उनले संसदीय राजनीतिमा फड्को मारेका हुन् ।

रविको पार्टीका तर्फबाट प्रतिनिधिसभामा २० जना सांसद् छन्, जसमध्ये ७ जना निर्वाचित छन् । रविको पार्टीले सरकार बनाउने र भत्काउने क्रममा ठूलो भूमिका रहने सम्भावना छ । यो पार्टी प्रतिनिधिसभाको चौथो ठूलो पार्टी हो । वैचारिक स्पष्टता र आफ्नो ‘लाइन’ अहिलेसम्म नछुट्टिए पनि यो पार्टी अहिले सबैको लागि प्यारो बनेको छ । आजबाट सुरु भएर भोलि सकिने रास्वपा पार्टीको बैठकमा आगामी दिनमा संसदमा खेल्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइएको छ । सभापति लामिछानेले आफूहरुको पार्टीले पहिलो पटक संसदीय अभ्यास गर्दै गरेकाले जनताको मन जितेर काम गर्न आफ्ना सांसद्लाई निर्देशन दिएका छन् ।

लामिछानेले सरकारमा जानै नहुने भन्ने पार्टीको लाइन नभएको बताएका छन् । रास्वपा सरकारमा सहभागी हुने भयो भनें उसले रोजेअनुसारको नै मन्त्रालय पाउने निश्चित छ । बैठकमा पार्टी सभापति रवि लामिछानेले पार्टीको निर्णयबिपरीत नबोल्न सांसदहरुलाई निर्देशन दिएका छन् । उनले यसअघि पनि पार्टीको निर्णय बिपरीत कतिपय समाचार आएको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीले आवश्यक परे सरकारमा जान सकिने पनि जनाएको छ । केही दिनअघि सभापति लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ओली निवास बालकोटमै गएर भेटेका थिए ।

ओलीले लामिछानेलाई सरकार निर्माणका लागि सघाउन आग्रह गरेका थिए । लामिछानेले नेपाली कांग्रेसबाट गगन थापा प्रधानमन्त्री बन्ने अवस्था आए सरकारलाई समर्थन गर्ने जनाएपछि रवि र गगनको भित्री सम्बन्ध के हो भन्ने चर्चा चलेको छ । कांग्रेसमा संसदीय दलको निर्वाचन बुधबार हुँदैछ । संसदीय दलको नेता नै पार्टीको भागमा सरकार बनाउने अवसर आए प्रधानमन्त्री बन्ने छन् । लामिछाने कसैलाई मन परे पनि नपरे पनि पार्टीको शक्ति ठूलो भएकाले अहिले सबैको प्यारो बनेका छन् । सत्ता गठबन्धनलाई बहुमत पु¥याउन संकट परिरहेका बेला लामिछानेको पार्टीले सहयोग गर्ने हो भनें कांग्रेस सभापतिसमेत रहेका संसदीय दलको निर्वाचनमा दलको नेताको उम्मेदवार बन्दै गरेका शेरबहादुर देउवा पनि खुशी नै हुने छन् । देउवा दलको नेता हुँदै फेरि पनि प्रधानमन्त्री बन्ने दाउमा छन् ।

रविले गगनको नेतृत्वमा सरकार बन्ने अवस्था आए सघाउन सक्ने जनाउ दिएका छन् । रवि र गगनबीचको आन्तरिक साँठगाँठलाई लिएर पनि अनेकखाले चर्चा भइरहेको छ । गगनले काठमाडौं ४ बाट प्रतिनिधिसभाको निर्वाचन जितेका छन् । रविले गगनलाई दलको नेता बनाउने चाहना व्यक्त गरेपछि कांग्रेसभित्र एउटा तरंग पैदा भएको छ । सत्ता गठबन्धनले सरकार बनाउने सम्भावना पनि बढ्दै गएको छ तर रविले अर्काको पार्टीको बारेमा किन यसरी बोले भन्ने प्रश्न पनि आएको छ । रविको पार्टीले गगनले प्रतिस्पर्धा गरेको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी नै दिएन, यसको अर्थ उनीहरुबीच आन्तरिक ‘सेटिङ’ छ भन्ने नै हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौका २, ६, ७ र ८ नम्बर क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचन जितेको छ । काठमाडौंमा रास्वपाले आफूलाई स्थापित गर्नु र गगनको क्षेत्रमा भनें उम्मेदवारी नदिनुले पक्कै पनि रवि र गगनबीच केही छ भन्ने कुरा सजिलै बुझ्न सकिन्छ ।

 

Ads

सम्बन्धित पोष्टहरू