धनगढी । सुदूरपश्चिममा भुवा पर्व सुरु भएको छ । कौरव र पाण्डव विच भएको महाभारत युद्ध जितेपछि पाण्डवले मनाएको उत्सवको सम्झनामा भुवा पर्व मनाईने गरिन्छ ।
महाभारत युद्ध सुरु हुनुअघि गरिएको तयारी (युद्ध कला)को निरन्तरताका रुपमा पनि यो पर्व मनाइने गरिन्छ । भुवा पर्वका अवसरमा हातमा तलवार, खुँडा तथा कवज (ढाला) लगेर पर्दशनी गर्ने गरिन्छ । सुदूरपश्चिमको अछाम, बझाङ र बाजुरामा विशोष रुपमा यो पर्व मनाइने गरिनछ, भने डोटीका केही क्षेत्रमा पनि भुवा पर्व मनाइने गरिन्छ ।
तर पछिल्लो समय पहाडबाट बसाई सरी कैलाली कञ्चनपुर आएका नागरिकले तराईमा पनि भुवा पर्व मनाउने गरेका छन् । पुसे औँसीको अघिल्लो दिनदेखि सुरूहुने यो पर्वमा भस्सो खेल्ने, घरेलु हतियार प्रदर्शनी गर्ने र डेउडा गाउने गरिन्छ ।
भुवा पर्वको अवसर पारेर बाजुरेली समाजले धनगढी स्थित खुला मञ्चमा सांस्कृतिक कार्यक्रम गरेको छ । भुवा पर्वमा खेलिने भुवा नाचको सुरुवात महाभारत युद्धमा पाण्डव पक्षको विजयोत्सवका रुपमा भुवा नाच देखाउन थालिएको जनविश्वास रहेको बाजुरेली सेवा समाजका संरक्षक कुलबहादुर हमालले बताए । महाभारतको युद्धको तयारीको रुपमा तलबार चलाउन र विपक्षले प्राहर गरेको तलवार रोक्न सिक्ने र सिकाउने कौशलका रुपमा भुवा नाचलाई लिने गरिएको उनले बताए ।
महाभारतको युद्धमा पाण्डवहरूको विजयपछि युधिष्ठिरको राज्याभिषेक उत्सवको रुपमा भुवा नाच खेल्न थालेको विश्वास गरिएको उनको भनाई छ । भुवा पर्व र भुवा नाचलाई व्यक्तिमा वीरता र पराक्रम जगाउने अवसरको रुपमा बुझ्नुपर्ने समाजका सचीव रामचन्द्र जोशीले बताए ।वीरता, पराक्रम र भाइचाराको सम्बन्ध विकास र विस्तार गर्न भुवा पर्व मनाइने गरिएको उनले बताए । भुवा नाचको महत्त्व उजागर गर्न र पर्वको संरक्षण गर्न धनगढीमा पनि भुवा पर्व मनाउन थालिएको उनले जानकारी दिए ।
बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला र कर्णाली प्रदेशका विभिन्न जिल्लामा भुवा नाच खेल्ने गरिएको छ । भुवा नाचमा दुबो र अबिर लगाएर सबै मनमुटाव बिर्सेर एकतावद्ध हुँदै तरबार र ढाल घुमाउँदै घरघरमा गएर भुवा नाच देखाउने प्रचलन छ । पहाडमा गाउँका मुख्य मान्छे रजबार, मुखिया र जिम्वालको घरबाट भुवा नाच सुरु गर्ने प्रचलन भए पनि धनगढीमा भने खुलामञ्चमा प्रदेश प्रमुखको उपस्थितिमा भुवा नाच सुरू हुनेछ । गाउँमा रजवार, मुखिया र जिम्वालको घरबाट भुवा नाच सुरु गर्ने परम्परा रहेको उनले बताए ।
भुवामा गाइने गीतलाई ‘भस्व भनिन्छ भने फाग पनि गाइन्छ । भुसा सुरु हुनु अघि खेल् सुरु हुने स्थानमा मुढा जलाइने गरिन्छ । जस्लाई ‘खाँडो’ जगाउनु भन्ने गरिन्छ । भुवा नाचमा विभिन्न मुखुण्डो लगाएर पनि नाच्ने गरिन्छ । पहाडी क्षेत्रमा १५ दिनसम्म भुवा खेल्ने प्रचलन भए पनि धनगढीमा भने तीन दिनसम्म भुवा नाच खेल्ने आयोजकले बताएका छन् । पहाडी क्षेत्रमा भुवाका लागि एका बिहानै मानिसहरू राँको बालेर मानिसहरू भुवा नाच्ने ठाउँमा पुग्ने परम्परा छ । भुवा पर्वमा सुदूरपश्चिम सरकारले सबै जिल्लामा सरकारी विदा दिनुपर्ने माग गरिएको छ ।
पर्वलाई सामाजिक एकतामा ढाल्नु पर्छनः प्रदेश प्रमुख जोशी
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले समाजमा मनाईने पर्वका माध्यामबाट सामाजिक एकता बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रबार धनगढी स्थित भुवा पर्वका अवसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख मल्ले भने, ‘यो पर्वले मानिसलाई एक ठाउँमा जम्मा गर्दछ,’ प्रदेश प्रमुख जोशीले भने, ‘मानिस एकठाउँमा जम्मा हुँदा बोलिचाली हुने र सम्बन्ध सधार्न सघाउँछ, त्यसैले यस्ता पर्वलाई सामाजिक एकताका रुपमा पनि मनाउनु पर्दछ ।’ पर्वले मानिसको पहिचान र सभ्यताको जगर्नेना गर्ने गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्