लमजुङ । लमजुङको दोर्दी गाउँपालिकाले वडाबाट योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाले गाउँसभाबाट विनयोजन भएका पालिकास्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्वन्धित वडाबाट गर्न थालेको हो ।
विगतमा पालिकाभित्रका सम्पूर्ण योजना गाउँपालिकाबाटै सम्झौता तथा भुक्तानी हुँदैँ आएकोमा गाउँपालिकाले चालु आर्थिक वर्षबाट भने वडामा सञ्चालन हुने योजना वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वताए । गाउँपालिकाले वडा नंम्बर१ बाट योजना सम्झौताको सुरुवात गरेको छ ।
वडामा योजना सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र वडामै मिलाउनुपर्नेछ । योजना सम्झौताका लागि पालिकाका आवश्यक कर्मचारी सहित बैकका कर्मचारी समेत उपस्थित रहने गाउँपालिकाले जनाएको छ ।
वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटोछरितो सम्पन्न गर्न सकिने गाउँपालिका अध्यक्ष अधिकारीले वताए । उपभोक्ता समितिलाई अब योजना सम्झौताका लागि पालिका कार्यालय सम्म धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ भने बैक खाता खोल्न बैंक जानुपर्ने झन्झटको पनि अन्य भएको छ ।
९ वडा रहेको दोर्दी गाउँपालिकामा हाल वडा नं। १ बाट सो कार्यको सुरुवात गरिएको हो । बाँकी वडामा क्रमशः सम्झौता गरिनेछ ।
योजना सम्झौता गर्न जाँदा कहिले कागजपत्र पूरा नहुने, कहिले योजनाका कर्मचारी फिल्डमा भएको बेला पुग्ने र कहिले बैंकमा खाता नखुल्ने भएका कारण धेरैपटक धाउनुपर्ने भएपछि नागरिकले दुख नपाउनु भनेर पालिकाको टिम वडामै गएर योजना सम्झौता थालिएको प्रशासकिय अधिकृत शमशेर गुरुङले वताए ।
प्रतिक्रिया दिनुहोस्