लमजुङ । लमजुङबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभा तथा राष्ट्रिय सभाका सांसदहरूले लमजुङ राइनासटार सिंचाइ आयोजना उपभोक्ताको मागलाई सम्बोधन गर्न चम्पावती जलविद्युत आयोजनालाई आग्रह गरेका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाका सांसदद्धय पृथ्वी सुब्बा गुरुङ, उर्मिला माझी, राष्ट्रिय सभा सदस्य दिपा गुरुङ, प्रदेशसभाका सांसद डा. टकराज गुरुङ, भेष वहादुर पौडेल, पार्वती तामाङ, टीका कुमारी बस्याल र यशोधा रिमालले उपभोक्ताको मागको सम्बोधन गर्न आग्रह गरेका हुन् ।
साथै, जनतालाई हतोत्साही नबनाउन र केही उपभोक्तालाई मुद्दा लगाइएको हुँदा यस्ता कार्य नगर्न र शीघ्र वार्तामा बसी सहज वातावरण बनाउन चम्पावती हाइड्रोपावरसँग आग्रह गरिएकाे छ । ३५ वर्षदेखि सन्चालनम रहेको राइनासटार सिंचाइ आयोजनाबाट राइनास नगरपालिका १ देखि ७ वडासम्मका तीन हजार पाँच सय घरपरिवारका १४ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुँदै आएका छन् ।
राइनासटार सिंचाइ आयोजनाबाट १४ हजार जनताको ८५० हेक्टर जमिन सिंचित हुँदै आएको छ । आयोजनाको मुहानभन्दा दुई सय मिटर तल पावरहाउस बनाउँदा आयोजना प्रत्यक्ष प्रभावित हुने भन्दै डिजाइन परिवर्तन गर्न विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्