हेमन्त केसी
सुर्खेत । भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पुस शुक्ल द्वितियाका दिन कर्णाली प्रदेशका जुम्ला डोल्पा लगायतका जिल्लाका सर्वसाधारणहरूले धुमधामका साथ मनाउने गर्दछन् ।
आजको दिनमा बिहानै आमा र छोरा दुबैले नुहाई धुवाई गरेर छोराहरुले आमाको हातबाट टिका थाप्ने प्रचलन छ । भाइ टीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा फूलको माला र सगुनको रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनिरोटीजस्ता परिकारहरू सहित छोरालाई टीका लगाउने प्रचलन छ ।
टीका लगाइसकेपछि छोरालाई सुख, शान्ति दीर्घायू र प्रगतिको कामना गर्दै आशिर्वाद दिने गरिन्छ । छोराले पनि आमाको हातबाट टीका र आशिर्वाद ग्रहणपछि दक्षिणाको रुपमा आफूसक्दो पैसा, कपडालगाएतका कोशेली दिएर ढोक्ने गरिन्छ । आमाको हातबाट टीका थाप्नका लागि जिल्ला बाहिर पुगेका छोराहरू पनि आजको दिन जसरी पनि घर पुग्ने गर्दछन् ।
कुनै काम विशेषले घर पुग्न नसक्ने छोराहरूले फोन लगायतका विभिन्न माध्यामबाट आशिर्वाद लिने र आमाले पनि छोराका लागि बनाएको कोशेली छुट्यायर राखिदिने गरिन्छ । छोरा तिहारमा आमाको हातबाट टिका थापिसके पछि सम्पूर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर–घर तथा गाँउ बस्तीहरुमा पुगेर भाइ टीकामा देउसी भने जस्तै भैलो खेल्ने प्रचलन छ ।
यसरी भैलो खेलेर उठेको रकमबाट धारा, पधेँरा, बाटो लगायतका सार्वजानिक सम्पदा मर्मत सम्भार गरिन्छ भने बचेको रकमबाट (पाठीभात) वनभोज जाने गरिन्छ । आजको दिनमा महिलाहरू पनि सार्वजानिक स्थलहरुमा भेला भएर चुट्किला देउडा खेलेर रमाइलो गर्ने र एक अर्काको पीरव्यथा साटासाट गर्ने गर्दछन् । डोल्पा लगायत कर्णालीका अन्य जिल्लाहरूमा मात्र मनाइने छोरा तिहार नेपालमा कतै पनि नमनाइने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय दुर्गाप्रसाद देवकोटाले बताए । परापूर्वकालदेखि मनाउँदै आएको यो तिहारको रौनक पहिलाको जस्तो नभएको उनको भनाइ छ ।
‘पहिला पहिला धेरैजसो मान्छेहरू गाउँघरमै हुन्थे र रौनक पनि त्यतिकै हुन्थ्यो । अहिले धेरै मानिसहरू सहरबजार छन्, कतिपय जागिर र काम विशेषले जिल्ला बाहिर छन्, त्यही भएर पनि पहिलाजस्तै रौनक छैन,’ देवकोटाले भने ।
‘प्रत्येक वर्ष गाउँघरमा मान्छेको जमघट छैन । धेरैजसो छोराहरू बाहिर छन् । त्यसैले छोरा तिहार लगायतका प्राचिन चाडपर्वहरू लोप हुने अवस्थामा छन्,’ उनले थपे । भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनिन्छ भने र आज खेलिनेभन्दा देउसी फरक ढङ्गबाट र फरक लयमा खेलिन्छ । भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएकाहरू सबैजना मिलेर पाठीभात (स्थानीय भाषामा) वनभोज खाने प्रचलन रहेको समेत उनले बताए । छोरा तिहारमा आमा नहुनेहरूले भने स्थानीय मठ मन्दिरहरूमा गएर पुजारीको हातबाट टीका अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।
छोरा तिहारमा खेलिने भैलोको केही अंश
आउँशीया बार,भैलो
दरमुद बार,भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली,भैलो
बाँस भित्र,भैलो
आर्या न तार्या,भैलो
पिपलु पाती,भैलो
रायकी छाती,भैलो
बाखरी खानु,भैलो
त्यो बाखरी कसो सुवाला,भैलो
कसो सुवाला,भैलो
भैलो दिने घरीनाको एककान सुन छ,भैलो
एक कान मोती,भैलो
सूर्यकी ज्याेति,भैलो
भेडो दिन्नन् डोर्याइए ल्याउला भैलो, घोडो दिन्नन चढी ल्याउँला, त्यहीँ पर जाउँला पिरती लगाउँला भैलो
पिरतीका बार,भैलो
आकाश जरा,भैलौ,
पात्तला शिला,भैलो
प्रतिक्रिया दिनुहोस्