काठमाडौं । सरकारले नवनिर्मितपोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । आउँदो शनिबारदेखि सञ्चालनमा आउने यो विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्दै छन् ।नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलमा विदेशी हवाई कम्पनीलाई आकर्षित गर्न एक वर्षसम्म विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भने, “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरिएको छ । विमानस्थलको भूमिस्थ सेवामा समेत छुट दिनेबारे छलफल भइरहे पनि निर्णय भने भइसकेको छैन ।” विमानस्थल सञ्चालनमा आएदेखि एक वर्षसम्म उक्त छुट सुविधा दिइने उनले बताए ।
प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ गर्न नेपाल वायुसेवा निगमलाई २०७७ मङ्सिरमै अनुमति दिइसकेको छ । निगमले जहाजको म्याक्सिम सर्टिफिकेटेड टेकअफ वेट (एमटीओडब्लू) अधिकतम उडानयोग्य तौललगायतका आधारमा भूमिस्थ सेवा शुल्क लिनेछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्