पोखरा । पोखरामा निर्माण सकिएको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायी लगायतको उपस्थिति रहनेछ ।
उद्घाटनअघि पोखरा महानगरको संयोजनमा वृहत झाँकी प्रदर्शन हुनेछ । पोखराको अमरसिहं चौरदेखि नयाँ एयरपोर्टसम्म र्याली पुग्नेछ । आजै पहिलो उडानबाट उक्त एयरपोर्टमा झर्ने चालक दलसहित यात्रुलाई फूलमालाले स्वागत गरिनेछ । ११ बजेदेखि औपचारिक कार्यक्रम सुरु हुने नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए ।
दिउँसो २ बजेपछि सेलेब्रेसनको कार्यक्रम चल्छ । उद्घाटनलाई विशेष बनाउन पोखरा महानगरपालिकाले सार्वजनिक विदा दिएको छ । त्यसकै पूर्वसन्ध्यामा महानगरले लेकसाइडदेखि कोत्रेसम्म बृहत सरसफाई गरिएको थियो ।
२०३२ सालमा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए । पटक पटक गरेर करिब ४ हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ । पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकोले विमानस्थल सञ्चालनपछि पर्यटन क्षेत्रले बढी लाभ लिने उनले बताए ।
२०७३ सालको वैशाख १ गते शिलान्यास भएको विमानस्थल १ वर्षपछि देखि निर्माण सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । चीनको निर्माण कम्पनी सिएएमसीइले निर्माण गरेको एयरपोर्टका लागि चीनकै एक्जिम बैंकले ऋण सहयोग गरेको हो । करिब २२ अर्ब लागतमा एयरपोर्ट निर्माण गरिएको हो ।
निर्माण सकिन ७ प्रतिशत बाँकी छँदै निर्माण कम्पनीले सरकारलाई एयरपोर्ट हस्तान्तरण गरिसकेको थियो । चैतमा चीनका विदेशमन्त्री वाङ यीको उपस्थितिमा एयरपोर्ट हस्तान्तरण भएको हो । तत्कालीन समयमा निर्माण कम्पनी सिएएमसीइका अध्यक्षले पोखरा एयरपोर्ट वान वेल्ट वान रोड अन्तर्गतको परियोजनाका रुपमा चित्रित गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्